१८ भाद्र २०८३, बिहीबार

सिचाङमा अपाङ्गता भएका बालबालिका र युवाको शिक्षामा सहयोग विस्तार गर्दै चीन

ड्रागन मिडिया समाचार कक्ष

चीनले आगामी पाँच वर्षमा सिचाङ स्वायत्त क्षेत्र तथा तिब्बती समुदाय बसोबास गर्ने अन्य क्षेत्रमा अपाङ्गता भएका बालबालिका र युवाको शिक्षा, पुनर्स्थापना, रोजगारी र सामाजिक सुरक्षामा सहयोग विस्तार गर्ने भएको छ।

चीन अपाङ्गता भएका व्यक्ति महासंघले बुधबार आयोजित कार्य सम्मेलनमा सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजना अवधिमा साझेदारी सहायता कार्यक्रममार्फत विशेष सहयोग विस्तार गरिने जनाएको हो।

कार्यक्रमअन्तर्गत सिचाङसहित सिचुवान, युनान, कान्सु र छिङहाइ प्रान्तका तिब्बती समुदाय बसोबास गर्ने क्षेत्रमा अपाङ्गता भएका बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुधार गर्ने तथा उच्च माध्यमिक शिक्षाको अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ।

अपाङ्गता भएका विद्यार्थीलाई व्यावसायिक तथा उच्च शिक्षामा प्रवेशका थप अवसर उपलब्ध गराउने व्यवस्था पनि योजनामा समावेश गरिएको छ।

पछिल्लो पाँच वर्षमा सिचाङमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच क्रमशः विस्तार भएको तथ्यांकले देखाएको छ। क्षेत्रमा हाल सातवटा विशेष शिक्षा विद्यालय सञ्चालनमा छन्, जहाँ एक हजार ३७ विद्यार्थी अध्ययनरत छन्।

त्यस्तै तीन हजार ६२१ अपाङ्गता भएका बालबालिका अन्य विद्यार्थीसँगै नियमित विद्यालयमा अध्ययन गरिरहेका छन् भने दुई हजार ५७० जनाले घरमै वा उनीहरूको आवश्यकताअनुसार व्यवस्था गरिएको वैकल्पिक शैक्षिक सेवा प्राप्त गरिरहेका छन्।

सिचाङमा अपाङ्गता भएका बालबालिकाको अनिवार्य शिक्षामा भर्नादर करिब ९७ प्रतिशत कायम रहेको जनाइएको छ। उच्च शिक्षा अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न प्रकारका आर्थिक सहायता पनि उपलब्ध गराइँदै आएको छ।

नयाँ पाँचवर्षीय अवधिमा आधारभूत पुनर्स्थापना सेवा आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिलाई सहयोग उपलब्ध गराउने तथा अपाङ्गता भएका बालबालिकाका लागि पुनर्स्थापना सेवा विस्तार गर्ने योजना छ।

यससँगै रोजगारीसम्बन्धी सेवा विस्तार गर्ने, सामाजिक सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने तथा खेलकुद र शारीरिक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउने कार्यक्रम पनि अघि सारिएको छ।

सिचाङले सन् २०१२ देखि बालबालिकाका लागि प्रारम्भिक शिक्षादेखि उच्च माध्यमिक तहसम्म १५ वर्षको निःशुल्क शिक्षा व्यवस्था लागू गर्दै आएको छ।

सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजना अवधिमा सिचाङको शिक्षामा सरकारी लगानी १८३ अर्ब युआनभन्दा बढी पुगेको थियो। यो अघिल्लो पाँचवर्षीय अवधिको तुलनामा ४२ प्रतिशतभन्दा बढी वृद्धि हो।

यस अवधिमा निःशुल्क शिक्षा कार्यक्रमका लागि तीन अर्ब ५० करोड युआनभन्दा बढी रकम विनियोजन गरिएको थियो। सरकारी तथ्यांकअनुसार उक्त कार्यक्रमबाट विद्यार्थीले सञ्चित रूपमा ३९ लाखभन्दा बढी पटक लाभ लिएका छन्।

क्षेत्रमा विद्यालय जाने उमेरका ९७ प्रतिशतभन्दा बढी बालबालिका नौ वर्षे अनिवार्य शिक्षा अवधिभर विद्यालयमा कायम रहेको जनाइएको छ।

सिचाङलाई साझेदारी सहायता उपलब्ध गराउने चीनका विभिन्न प्रान्त तथा नगरपालिकाले पछिल्लो पाँच वर्षमा आठ सयभन्दा बढी शिक्षक पनि क्षेत्रमा पठाएका छन्।

उच्च शिक्षामा पहुँच पनि विस्तार भएको सरकारी तथ्यांकले देखाउँछ। प्रति एक लाख जनसंख्यामा उच्च शिक्षा हासिल गरेका व्यक्तिको संख्या सन् २०१० मा पाँच हजार ५०७ रहेकोमा सन् २०२० मा बढेर ११ हजार १९ पुगेको थियो।

सन् २०२५ मा सिचाङमा थप तीन उच्च शिक्षा संस्था स्थापना भएका थिए। त्यससँगै श्रम बजारमा नयाँ प्रवेश गर्ने व्यक्तिमध्ये उच्च शिक्षा प्राप्त गरेकाको हिस्सा ५९ प्रतिशत पुगेको जनाइएको छ।

नयाँ पाँचवर्षीय कार्यक्रमले अपाङ्गता भएका बालबालिका र युवाको शिक्षालाई विद्यालय भर्नामा मात्र सीमित नराखी उच्च शिक्षा, सीप विकास, पुनर्स्थापना, रोजगारी र सामाजिक सुरक्षासँग जोडेर अघि बढाउने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button