१८ भाद्र २०८३, बिहीबार

अख्तियार त्रास सिर्जना गर्ने होइन, प्रमाणका आधारमा विश्वास जगाउने संस्था हुनुपर्छ : कानूनमन्त्री गौतम

ड्रागन मिडिया सम्वाददाता

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र, निष्पक्ष र व्यावसायिक संस्था हुनुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध रहेको बताइन्। अख्तियारलाई प्रभावकारी र बलियो बनाउनुपर्ने विषयमा कुनै शंका नरहेको उनको भनाइ थियो।

मन्त्री गौतमले अख्तियारको शक्ति नागरिक वा कर्मचारीमा त्रास सिर्जना गर्ने क्षमताबाट नभई निष्पक्ष अनुसन्धान, व्यावसायिकता र प्रमाणमा आधारित अभियोजनबाट स्थापित हुनुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘संस्थाको बल त्रास सिर्जना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो पगरी गुथ्ने संस्था हुनु हुँदैन। निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्नका लागि, अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ भन्ने विश्वास जगाउने संस्था हुनुपर्छ।’

भ्रष्टाचारमा संलग्न व्यक्ति अख्तियारसँग डराउनुपर्ने भए पनि इमानदार कर्मचारीसमेत निर्णय लिन डराउने वातावरण सिर्जना हुन नहुने उनले बताइन्।

कतिपय अवस्थामा कारवाहीको त्रासका कारण कर्मचारीतन्त्र निर्णय प्रक्रियाबाट पछि हट्दा सरकार नै अनिर्णयको बन्दी बन्ने अवस्था देखिएको उल्लेख गर्दै उनले सार्वजनिक प्रशासनमा उत्तरदायित्वसँगै निर्णय गर्ने आत्मविश्वास पनि आवश्यक रहेको बताइन्।

मन्त्री गौतमले अख्तियारले मुद्दा अभियोजन गर्दा पर्याप्त तथ्य र प्रमाण सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। प्रमाणमा आधारित अनुसन्धान र निष्पक्ष अभियोजनले मात्रै संवैधानिक निकायप्रतिको सार्वजनिक विश्वास बलियो बनाउन सक्ने उनको भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button