१८ भाद्र २०८३, बिहीबार

अख्तियारलाई प्रधानमन्त्री कार्यालयको शाखाजस्तो व्यवहार नगरियोस् : अमरेशकुमार सिंह

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री र मन्त्रीहरूलाई संवैधानिक आयोगहरूको स्वतन्त्रता र मर्यादाको सम्मान गर्न आग्रह गरेका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायलाई कार्यपालिकाको मातहतको कार्यालयजस्तो व्यवहार गर्न नहुने बताए।

‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग हो ?’ सिंहले प्रश्न गरे, ‘अख्तियारलाई अख्तियार बन्न दिऊँ। संवैधानिक निकायलाई संवैधानिक निकायकै हैसियतमा काम गर्न दिनुपर्छ।’

गत असार पहिलो साता अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनाको प्रसंग उठाउँदै उनले संवैधानिक निकायमाथि कार्यपालिकाबाट अनुचित दबाब पर्न नहुने बताए। उक्त घटनामा अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर लामो समय सोधपुछ गरिएको भन्दै त्यसबेला प्रश्न उठेको थियो।

सिंहले संवैधानिक निकायका पदाधिकारीलाई प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा उपस्थित नहुनसमेत सुझाव दिए।

‘पदाधिकारीज्यूहरूलाई मेरो सुझाव छ, प्रधानमन्त्री वा कुनै मन्त्रीले बोलाए भने तपाईंहरू नजानुस्,’ उनले भने।

संसदीय समितिले आफ्नो संवैधानिक तथा संसदीय भूमिकाअन्तर्गत सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर जवाफ माग्न र आवश्यक निर्देशन दिन सक्ने भए पनि कार्यपालिकाले संवैधानिक निकायमाथि नियन्त्रणको व्यवहार देखाउन नहुने सिंहको भनाइ थियो।

उनले अख्तियारको स्वतन्त्रता र निष्पक्षता कायम गर्नु भ्रष्टाचार नियन्त्रणसँगै संवैधानिक शक्ति सन्तुलनका दृष्टिले पनि महत्वपूर्ण रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button