१५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च जाने देउवा पक्षको निर्णय

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
नेता शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बिहीबार बिहान बसेको देउवा पक्षीय नेताहरूको बैठकले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको पुनरावलोकनबाट अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको हो।
नेता एनपी सावदका अनुसार बिहीबार रिट दर्ता गर्न समय नपुग्ने भएकाले शुक्रबारसम्म सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी छ।
सर्वोच्च अदालतले साउन २१ गते कांग्रेस विवादसम्बन्धी यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएपछि देउवा पक्षले अन्तिम निर्णय नआएसम्म गगन थापा नेतृत्वले महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने अडान राख्दै आएको छ।
सावदका अनुसार वडा तहको अधिवेशन शुरु भएसँगै पार्टीभित्र समानान्तर संरचना बन्ने र विभाजनको अवस्था उत्पन्न हुन सक्ने भएकाले आधिकारिक नेतृत्वबारे अदालतको अन्तिम फैसला पर्खनुपर्ने देउवा पक्षको धारणा छ।
‘वडा तहको अधिवेशनबाटै विभाजनको अवस्था शुरु हुन्छ। त्यसैले कसले मान्यता पाउने भन्ने कुरा अदालतको अन्तिम निर्णय नआउन्जेल पर्खनुपर्ने हुन्छ,’ सावदले भने।
उनले दुईवटा समानान्तर महाधिवेशन हुने वा एउटा पक्षले एक्लै महाधिवेशन सम्पन्न गर्ने अवस्था आए सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको प्रयोजन नै प्रभावित हुन सक्ने बताए।
देउवा पक्षको भनाइमा अदालतको अन्तिम फैसला आउनुअघि महाधिवेशन गर्ने हो भने पूर्वसभापति देउवाको नेतृत्व स्वीकार गरेर मात्र प्रक्रिया अघि बढाउनुपर्छ। साउन २९ देखि ३१ गतेसम्म भएको देउवा पक्षीय राष्ट्रिय भेलाले पनि देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो।
यता, सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले बुधबार तोकिएकै समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। देउवा पक्षसँग सहमति खोज्ने प्रयासस्वरूप तल्ला तहका अधिवेशनको कार्यतालिकामा भने केही संशोधन गरिएको छ।
संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन भदौ २६ गतेदेखि शुरु हुनेछ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तयारी छ। सदस्यता व्यवस्थापन तथा महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया भने शुरु भइसकेका छन्।
देउवा पक्षले सर्वोच्च अदालतबाट पुनरावलोकन मुद्दाको अन्तिम टुंगो नलागेसम्म थापा नेतृत्वले महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने बताउँदै आएको छ।
यसैबीच पार्टीभित्रको विवाद राजनीतिक संवादबाट समाधान गर्ने प्रयास पनि जारी छ। सभापति थापाले बुधबारदेखि नै पूर्वसभापति देउवासँग भेटवार्ताका लागि समय मागिरहेका छन्। बिहीबार दुई नेताबीच भेटवार्ता हुन सक्ने भए पनि समय भने निश्चित भइसकेको छैन।
अदालतमा पुनरावलोकन प्रक्रिया चलिरहेको अवस्थामा महाधिवेशनको तयारी पनि समानान्तर रूपमा अघि बढेपछि कांग्रेसको आन्तरिक विवाद राजनीतिक सहमति र न्यायिक निर्णय दुवैसँग जोडिएको छ।





