१८ भाद्र २०८३, बिहीबार

दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीको खानतलासी

ड्रागन मिडिया सम्वाददाता

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।

मध्यपुर ठिमीस्थित प्रसाईंको घरमा बिहीबार साँझ ठूलो सङ्ख्यामा सादा पोशाक र पोशाकधारी प्रहरी परिचालन गरी विभिन्न कोठामा खानतलासी गरिएको हो। खानतलासीका क्रममा प्रसाईं घरमै रहेको उनका सहयोगीले बताएका छन्।

प्रसाईंका एक सहयोगीका अनुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकसहित करिब तीन दर्जन सुरक्षाकर्मी निवासमा पुगेका थिए। केही प्रहरी घरबाहिर परिचालित थिए भने अन्य टोलीले घरका विभिन्न कोठामा खानतलासी गरेको बताइएको छ।

प्रहरीले कुन अनुसन्धान वा कसुरसँग सम्बन्धित भएर खानतलासी गरेको हो भन्ने विषयमा तत्काल विस्तृत आधिकारिक जानकारी सार्वजनिक भएको छैन। खानतलासीका क्रममा कुनै सामग्री नियन्त्रणमा लिइएको छ वा छैन भन्ने पनि स्पष्ट भइसकेको छैन।

प्रसाईंले बिहीबार बिहान आफ्ना १२ बुँदे माग अघि सार्दै ती माग मन्त्रीपरिषदबाट स्वीकृत गरी कार्यान्वयन प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका थिए।

उनले राष्ट्रिय मानव अधिकार आयोग परिसरमा धर्नामा रहेका नागरिक आफ्ना माग कार्यान्वयनका लागि सरकारी निर्णय भएपछि मात्र जिल्लामा फर्कने बताएका थिए।

पछिल्लो समय लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनसँग प्रसाईं नेतृत्वको महाअभियानसमेत जोडिँदै आएको छ। आन्दोलनलाई उत्तेजित बनाउन प्रसाईंको भूमिका रहेको सरकारी पक्षबाट आरोप लगाइँदै आए पनि प्रसाईंले आफू पीडित नागरिकका मागको पक्षमा रहेको बताउँदै आएका छन्।

सरकार र प्रसाईं पक्षबीच पछिल्ला दिनमा वार्तासमेत भएको थियो। प्रसाईंले सिंहदरबारमा वार्ताका लागि बोलाएर आफूलाई मध्यरातसम्म नियन्त्रणमा राखिएको दाबी गरेका छन्। सरकारी पक्षबाट भने उक्त दाबीको विस्तृत पुष्टि भएको छैन।

प्रसाईंको निवासमा भएको पछिल्लो खानतलासीको कानुनी आधार, उद्देश्य र त्यसबाट प्राप्त विवरणबारे प्रहरीको औपचारिक जानकारीपछि थप स्पष्ट हुने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button