स्थानीय निर्वाचनमा हाम्रो मुख्य प्रतिस्पर्धी रास्वपा हो : धवल शम्शेर राणा

ड्रागन मिडिया सम्वाददाता
जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेर राणाले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीसँग हुने बताएका छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै राणाले संगठन विस्तारमा केन्द्रित हुन र स्थानीय निर्वाचनलाई मुख्य लक्ष्य बनाएर जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।
‘हामीले मिहिनेत गरेर जानुपर्छ। हाम्रो लक्ष्य भनेको आउने स्थानीय निर्वाचनमा घण्टीसँग प्रतिस्पर्धा गर्ने हो,’ राणाले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिह्न घण्टीलाई उल्लेख गर्दै उनले आगामी स्थानीय निर्वाचनमा नयाँ राजनीतिक शक्तिबीच मुख्य प्रतिस्पर्धा हुने आफ्नो आकलन सुनाए।
राणाले आफूहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक विवादमा अल्झिन नचाहेको पनि बताए। राप्रपाभित्र पछिल्लो समय देखिएका विवाद, अनुशासनको कारवाही र आन्तरिक मतभेदलाई संकेत गर्दै उनले जय नेपाल पार्टीले अब आफ्नै संगठन निर्माण र राजनीतिक लक्ष्यमा ध्यान केन्द्रित गर्ने बताए।
‘हामीलाई राप्रपाको मतलब नै छैन। लडिरहोस्, झगडिरहोस्, जे जे गर्छ गरिरहून्। यिनीहरूको पछि हामी जाने नै होइन,’ उनले भने।
राप्रपामा पछिल्लो समय देखिएको विवादप्रति टिप्पणी गर्दै राणाले पार्टी छाडिसकेपछि त्यहाँको आन्तरिक संघर्षमा आफ्नो दल संलग्न नहुने स्पष्ट गरे। उनले हालै राप्रपाले आफ्ना केही सांसदमाथि गरेको अनुशासनको कारवाहीतर्फ समेत संकेत गरेका थिए।
राणाले जय नेपाल पार्टीको तत्कालीन राजनीतिक प्राथमिकता स्थानीय तह निर्वाचन भएको उल्लेख गर्दै देशभर संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्र बनाइने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि राणाले जय नेपाल पार्टी गठन गरेका हुन्। नयाँ दलले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक संरचना विस्तार र स्थानीय तहमा आधार निर्माणलाई प्राथमिकतामा राखेको छ।





