१८ भाद्र २०८३, बिहीबार

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्न केन्द्रीय समिति बैठक आज

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ। आगामी स्थानीय तह निर्वाचनको तयारी, उम्मेदवार छनोट प्रक्रिया र पार्टीको आन्तरिक संगठन सुदृढीकरण बैठकका मुख्य कार्यसूची रहेका छन्।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बोलाएका हुन्।

बैठकको प्रमुख कार्यसूचीमा आगामी स्थानीय तह निर्वाचनका लागि तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने विषय रहेको छ। रास्वपाले स्थानीय तहका उम्मेदवार छनोट गर्दा अपनाइने मापदण्ड, विधि र प्रक्रियालाई बैठकबाट अन्तिम रूप दिने तयारी गरेको छ।

पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको जननिर्वाचित प्रतिनिधिलाई मतदाताले निश्चित प्रक्रियाबाट फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ सम्बन्धी अवधारणालाई पनि संस्थागत दस्तावेजको रूप दिने तयारी गरेको छ। त्यसका लागि आवश्यक कानुनी तथा राजनीतिक खाका निर्माण गर्ने विषय बैठकमा छलफल हुनेछ।

बैठकले पार्टीका रिक्त तथा थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदमा मनोनयनसमेत गर्ने कार्यसूची तय गरेको छ। केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको मनोनयन तथा जिम्मेवारी बाँडफाँटबारे निर्णय हुने तयारी छ।

आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने र त्यसका सदस्य मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।

रास्वपाले स्थानीय तहमा उम्मेदवार छनोटको प्रक्रिया र मापदण्डबारे पार्टीका तल्ला तहसम्म स्पष्ट जानकारी पुर्‍याउन केन्द्रीय सदस्य तथा सांसदको नेतृत्वमा देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारेको छ।

पार्टीको आधिकारिक धारणा, नीति, गतिविधि तथा संगठनसम्बन्धी जानकारी नियमित रूपमा सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा पनि बैठकले निर्णय गर्ने तयारी गरेको छ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर उम्मेदवार छनोटको विधि, संगठनात्मक जिम्मेवारी र राजनीतिक कार्यदिशालाई एकसाथ व्यवस्थित गर्ने प्रयासका रूपमा आजको बैठकलाई रास्वपाले महत्वपूर्ण मानेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button