१७ भाद्र २०८३, बुधबार

काभ्रेपलाञ्चोकमा साउनमा ७४ आपराधिक घटना, बैंकिङ कसुरका मुद्दा सबैभन्दा धेरै

ड्रागन मिडिया सम्वाददाता

काभ्रेपलाञ्चोकमा गत साउन महिनामा ७४ वटा आपराधिक घटना दर्ता भएका छन्। यस अवधिमा विभिन्न अपराधमा संलग्न ७६ प्रतिवादी पक्राउ परेका छन् भने ट्राफिक नियम उल्लंघन गर्ने ६५९ सवारीसाधनमाथि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार दर्ता भएका ७४ मुद्दामध्ये ४१ वटा फर्छ्योट भएका छन्। बाँकी मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार चालु मुद्दासँग सम्बन्धित विभिन्न अपराधका ७६ प्रतिवादीलाई एक महिनाको अवधिमा पक्राउ गरिएको छ।

प्रहरीको तथ्यांकले पछिल्ला महिनामा जिल्लामा आर्थिक तथा वित्तीय प्रकृतिका अपराध बढ्दै गएको देखाएको छ। साउनमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै १८ वटा बैंकिङ कारोबारसँग सम्बन्धित छन्।

यसैगरी साधारण चोरी, मोटरसाइकल चोरी तथा चौपाया चोरीसम्बन्धी १२ मुद्दा दर्ता भएका छन्। सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, बोक्सीको आरोप, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगलगायत गम्भीर प्रकृतिका मुद्दासमेत दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न समयमा सवारी ज्यान मुद्दामा फरार रहेका २० अभियुक्तलाई समेत साउन महिनामा पक्राउ गरेको छ।

अदालतबाट भएका फैसला कार्यान्वयनतर्फ प्रहरीले एक वर्ष चार महिना १५ दिन बराबरको कैद सजाय कार्यान्वयन गराउनुका साथै २९ लाख ६९ हजार ९०० रुपैयाँ जरिवाना असुल गरेको छ।

सडक सुरक्षा र नियम उल्लंघन नियन्त्रणका क्रममा ६५९ सवारीसाधनमाथि कारवाही गरी छ लाख एक हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न टिपर नियन्त्रणमा लिएर थप तीन लाख १७ हजार रुपैयाँ राजस्व दाखिला गराइएको प्रहरीले जनाएको छ।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १०७ भट्टी नष्ट गरिएको छ। ती स्थानबाट एक हजार ३९८ लिटर अवैध घरेलु मदिरा तथा तीन हजार ३५ लिटर मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ जफत गरिएको छ।

आपराधिक घटना न्यूनीकरण तथा नागरिक सचेतना अभिवृद्धिका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साउन महिनामा ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

साइबर अपराध, यौन दुर्व्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध केन्द्रित ती कार्यक्रमबाट १९ हजार ९१३ नागरिकलाई सचेत गराइएको सूचना अधिकारी विष्टले बताए।

प्रहरीले नागरिकको धनजनको सुरक्षा र अपराध नियन्त्रणका लागि नियमित गस्ती, आकस्मिक जाँच तथा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button