नेपाल डिस्टिलरिजलाई ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा चार सम्मान

ड्रागन मिडिया सम्वाददाता
नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा दुई स्वर्ण, एक रजत र एक ‘साउथ एसिया ग्रान्ड प्रिक्स’ गरी चार प्रमुख सम्मान प्राप्त गरेको छ।
भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा दक्षिण एसियाभरका उत्कृष्ट मार्केटिङ, उपभोक्ता संलग्नता, ब्रान्ड प्रवर्द्धन र नवीनतासम्बन्धी अभियानलाई विभिन्न विधामा सम्मान गरिएको हो।
एनडीपीएलका दुई प्रमुख ब्रान्डका लागि तयार गरिएका विभिन्न अभियानले पुरस्कार जितेका हुन्। ती अभियानको सिर्जनात्मक अवधारणा र कार्यान्वयनमा क्रिएटिभ एजेन्सी आउटरीच नेपालको भूमिका रहेको कम्पनीले जनाएको छ।
‘मेरो खुकुरी’ अभियानले ‘साउथ एसिया इमर्जिङ मार्केट क्याम्पेन’ र ‘लास्ट माइल इनोभेसन’ विधामा दुई स्वर्ण पुरस्कार प्राप्त गरेको छ। कम्पनीका अनुसार उपभोक्तासँग लामो समयदेखि स्थापित भावनात्मक सम्बन्ध र अपनत्वलाई अभियानको मुख्य आधार बनाइएको थियो।
त्यसैगरी, न्युडको ‘जस्ट बी यु’ अभियानले ‘साउथ एसिया ग्रान्ड प्रिक्स’ जितेको छ। ‘पोखरा फ्ल्यास मोब’ अभियानले भने ‘स्मल बजेट क्याम्पेन–साउथ एसिया’ विधामा रजत पुरस्कार प्राप्त गरेको छ।
कम्पनीले सीमित बजेटमा स्थानीय उपभोक्ताको व्यवहार, जनजीवन र सांस्कृतिक सन्दर्भलाई आधार बनाएर प्रभावकारी अभियान सञ्चालन गरिएको जनाएको छ।
नेपाल डिस्टिलरिज र आउटरीच नेपालबीचको सहकार्यबाट तयार भएका अभियानले दक्षिण एसियाली स्तरमा प्राप्त गरेको सम्मानलाई नेपाली बजारबाट विकसित सिर्जनात्मक अवधारणाको क्षेत्रीय प्रतिस्पर्धात्मक क्षमताका रूपमा हेरिएको छ।
यस उपलब्धिले स्थानीय उपभोक्ताको मनोविज्ञान, संस्कृति र बजार व्यवहारमा आधारित मौलिक अवधारणालाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सके नेपाली ब्रान्डले क्षेत्रीय स्तरका प्रतिष्ठित मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखाएको कम्पनीको भनाइ छ।





