नाडाको स्वर्ण जयन्तीमा १८औँ अटो शो, २०० भन्दा बढी स्टल रहने

ड्रागन मिडिया सम्वाददाता
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने अटो शो नाडाको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गर्न लागिएको हो। नाडा सन् १९७५ मा सीमित सवारी आयातकर्ताहरूको सहभागिताबाट स्थापना भएको थियो।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहने नाडाले जनाएको छ। मेलामा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारी ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे सवारी ब्रान्ड सहभागी हुनेछन्।
यसैगरी सवारी पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, विद्युतीय सवारी चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनीले सहभागिता जनाउनेछन्। १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीसमेत प्रदर्शनीमा सहभागी हुने जनाइएको छ।
नाडाका अनुसार पछिल्लो पाँच दशकमा नेपालको अटोमोबाइल क्षेत्र उल्लेख्य रूपमा विस्तार भएको छ। हाल देशभर दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ।
विगत पाँच आर्थिक वर्षमा मात्रै करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात भएको र त्यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ।
नेपालको सवारी बजार पछिल्ला वर्षमा हरित गतिशीलतातर्फ पनि तीव्र रूपमा उन्मुख भएको छ। हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिएको र तिनका लागि देशभर करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल विकास भइसकेको बताइएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करण संस्थाको ५० वर्षे यात्राको उत्सव मात्र नभई नेपालको अटोमोबाइल उद्योगले अर्थतन्त्रमा पुर्याएको योगदानको समीक्षा गर्ने अवसरसमेत भएको बताएका छन्।
नेपालको अटोमोबाइल क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना, सरकारी राजस्व संकलन, यातायात पूर्वाधारको विस्तार, नयाँ प्रविधिको प्रयोग र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको नाडाको भनाइ छ।
विद्युतीय सवारीको बढ्दो प्रयोग, चार्जिङ पूर्वाधार विस्तार र नयाँ प्रविधियुक्त सवारीको प्रवेशसँगै यस वर्षको अटो शोमा परम्परागत सवारीसँगै भविष्यको हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई विशेष प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
नाडाले स्वर्ण जयन्तीलाई नेपाली अटोमोबाइल क्षेत्रको विगत पाँच दशकको उपलब्धि समीक्षा गर्दै आगामी दिनमा सुरक्षित, आधुनिक र वातावरणमैत्री यातायात प्रणालीतर्फ अघि बढ्ने महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिएको छ।





