तनहुँमा एक वर्षमा ५७० नयाँ उद्योग तथा व्यवसाय दर्ता, ४८४ खारेज

ड्रागन मिडिया सम्वाददाता
तनहुँमा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको छ। गत आर्थिक वर्षमा जिल्लामा २४३ उद्योग र ३२७ वाणिज्य फर्म गरी कुल ५७० नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका छन्।
एकीकृत सेवा कार्यालय तनहुँका अनुसार नयाँ दर्ता भएका उद्योग तथा फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रसँग सम्बन्धित व्यवसाय रहेका छन्।
कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा नयाँ उद्योग दर्ताको संख्या ९४ ले बढेको छ। यसले जिल्लाका मुख्य बजार क्षेत्रमा उद्योग तथा व्यवसाय सञ्चालनप्रतिको आकर्षण केही बढेको देखाएको छ।
नयाँ उद्योग तथा व्यवसाय थपिने क्रमसँगै सञ्चालनमा रहेका कतिपय पुराना व्यवसाय बन्द हुने क्रम पनि उल्लेख्य देखिएको छ। गत आर्थिक वर्षमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका छन्।
कार्यालयको अभिलेखअनुसार हालसम्म तीन हजार ४७७ उद्योग तथा व्यवसाय नवीकरण भएका छन्।
एकै वर्ष ठूलो संख्यामा नयाँ दर्ता र खारेजी दुवै देखिनुले तनहुँको व्यावसायिक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलताको प्रवेशसँगै पुराना व्यवसायको निरन्तरता कायम राख्ने चुनौती पनि रहेको संकेत गर्छ।
कार्यालयले उद्योग तथा वाणिज्य फर्मको दर्ता, नवीकरण, खारेजी तथा अन्य प्रशासनिक सेवा एकीकृत रूपमा प्रदान गर्दै आएको छ।





