१७ भाद्र २०८३, बुधबार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा, बैंकिङ कसुर सबैभन्दा धेरै

ड्रागन मिडिया सम्वाददाता

बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। तीमध्ये बैंकिङ कसुरका मुद्दा सबैभन्दा धेरै रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार आर्थिक अपराधअन्तर्गत बैंकिङ कसुरका १९, ठगीका १४, सहकारीको रकम हिनामिनासम्बन्धी एक तथा नेपाल राष्ट्र बैंकसम्बन्धी कसुरका दुई मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ एक महिनामा कुल १४४ मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर प्रकृतिका नौ, सामान्य अपराधका ८४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १५ र आर्थिक अपराधका ३६ मुद्दा रहेका छन्।

प्रहरीले चालु मुद्दाका १२६ प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनतर्फ फरार रहेका थप ८० जनालाई पक्राउ गरिएको राठौरले जानकारी दिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित विभिन्न प्रकृतिका १०५ उजुरीमध्ये १०३ वटा फर्छ्योट भएका छन्। घरेलु हिंसासम्बन्धी ६३ उजुरी दर्ता भएकामा ६१ वटा मिलापत्रबाट टुंगिएका छन् भने बाँकी विषय आवश्यक कानुनी प्रक्रियाका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ।

यस अवधिमा बाँकेमा ८४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २३ जना गम्भीर र ११९ जना सामान्य घाइते भएका छन्।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा प्रहरीले २१ लाख १४ हजार ७०७ रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको जनाएको छ। सो क्रममा दुई जनालाई पक्राउ गर्नुका साथै पाँच सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरीले विपद व्यवस्थापन, अवैध मदिरा नियन्त्रण, प्राकृतिक सम्पदाको अवैध दोहन रोकथाम, पशु चोरी पैठारी तथा अवैध वन पैदावार चोरी निकासी नियन्त्रणमा समेत अभियान सञ्चालन गरिएको जनाएको छ।

एक महिनाको तथ्यांकले बाँकेमा बैंकिङ कसुर र ठगीसहित आर्थिक अपराधको उल्लेख्य उपस्थिति देखाएको छ भने सडक दुर्घटना र महिला तथा घरेलु हिंसासम्बन्धी उजुरी पनि प्रहरीका प्रमुख कार्यक्षेत्रका रूपमा देखिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button