१९ भाद्र २०८३, शुक्रबार

टप एन्ड टी–२० मा नेपालको पहिलो खेल आज, आयोजक एनटी स्ट्राइकसँग भिड्दै

ड्रागन मिडिया सम्वाददाता

अस्ट्रेलियामा आजदेखि शुरु हुने टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपाल ‘ए’ टोलीले आफ्नो पहिलो खेल आयोजक नर्दर्न टेरिटोरी स्ट्राइक अर्थात एनटी स्ट्राइकसँग खेल्दैछ।

डार्विनस्थित डीएक्ससी एरिनामा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे शुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले अनिल कुमार शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली प्रतियोगिताका लागि अस्ट्रेलिया पठाएको छ।

टोलीमा कप्तान अनिल कुमार शाहसहित कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

नेपालले प्रतियोगिताको लिग चरणमा कुल छ खेल खेल्नेछ। एनटी स्ट्राइकसँगको पहिलो खेलपछि शनिबार बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग दोस्रो खेल खेल्नेछ।

नेपालले अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्समेन एकेडेमी र अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका छ।

नेपाल लगातार दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागी भएको हो। अघिल्लो संस्करणमा नेपालको वरिष्ठ राष्ट्रिय टोलीले प्रतियोगिता खेलेको थियो। त्यतिबेला नेपालले लिग चरणका छ खेलमध्ये दुईमा जित र चार खेलमा हार बेहोरेको थियो।

यसपटक क्यानले अनुभवी राष्ट्रिय खेलाडी र उदीयमान प्रतिभालाई समेटेर नेपाल ‘ए’ टोली पठाएको छ। कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बमलगायत अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको उपस्थितिले टोलीलाई बलियो बनाएको छ।

अस्ट्रेलियाली परिस्थितिमा विभिन्न स्तरका प्रतिस्पर्धी टोलीसँग खेल्ने अवसरले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न र आगामी प्रतियोगिताका लागि तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टप एन्ड टी–२० सिरिज अगस्ट २१ देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button