१७ भाद्र २०८३, बुधबार

बाजुराका दुई स्थानीय तहमा १० शय्याका आधारभूत अस्पताल सञ्चालन

ड्रागन मिडिया सम्वाददाता

बाजुराका नौ स्थानीय तहमध्ये गौमुल र जगन्नाथ गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। आवश्यक जनशक्ति, औषधि तथा उपकरणको पूर्ण व्यवस्थापन हुन बाँकी रहे पनि स्थानीय नागरिकलाई पालिकामै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गरिएको हो।

गौमुल गाउँपालिकाले भदौ ३ गतेदेखि १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्।

अस्पतालको भवन निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सेवा शुरु गरिएको हो। विद्युत सेवा, औषधि, उपकरण तथा आवश्यक जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन समय लागेको अध्यक्ष रोकायाले बताए।

अस्पतालमा मेडिकल अधिकृतसहित २२ कर्मचारी रहने व्यवस्था गरिएको छ। तत्काल चिकित्सक उपलब्ध हुन नसकेकाले हाल उपलब्ध जनशक्तिबाट सीमित सेवा शुरु गरिएको छ। आवश्यक चिकित्सक, अन्य स्वास्थ्यकर्मी, औषधि र उपकरण थप गर्दै सेवा विस्तार गर्ने गाउँपालिकाको तयारी छ।

गाउँपालिका उपाध्यक्ष सीता थापाका अनुसार अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत तथा केही थप स्वास्थ्य सेवा आफ्नै पालिकामा पाउने वातावरण बनेको छ। यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध सीमित सेवामा निर्भर स्थानीयवासीलाई थप उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो।

यस्तै, जगन्नाथ गाउँपालिकाले जुड्डीमा निर्माण गरिएको १० शय्याको आधारभूत अस्पताल २०८० चैतदेखि सञ्चालन गर्दै आएको छ। ११ करोड ७८ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण भएको अस्पतालमा पनि केही जनशक्ति र उपकरणको अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले बताए।

उनका अनुसार २०८२ चैतदेखि मेडिकल अधिकृतको एक पद रिक्त छ। चिकित्सक नियुक्तिका लागि गाउँपालिकाले विज्ञापन गर्ने निर्णय गरेको छ।

सरकारले स्वास्थ्य सेवाको पहुँच कमजोर रहेका नागरिकलाई स्थानीय स्तरमै उपचार सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अघि सारेको थियो। तर बाजुराका अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन्।

जिल्ला सदरमुकाम मार्तडी रहेको बडीमालिका नगरपालिकाले वडा नम्बर ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन्।

बुढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भने पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। जिल्लाका अन्य स्थानीय तहमा पनि आधारभूत अस्पताल निर्माणको काम विभिन्न चरणमा रहेको छ।

गौमुल र जगन्नाथमा अस्पताल सञ्चालन भएसँगै सामान्य जाँच तथा उपचारका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने स्थानीयवासीको बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ। तर अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न चिकित्सकसहित आवश्यक जनशक्ति, औषधि र उपकरणको दिगो व्यवस्थापन अझै मुख्य चुनौतीका रूपमा रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button