लोकदोहोरी मेला आजदेखि, टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङसँगै तीनदिने सांगीतिक उत्सव

ड्रागन मिडिया सम्वाददाता
नेपाली लोकसंगीत, दोहोरी र रोधी संस्कृतिलाई केन्द्रमा राखेर तीनदिने ‘लोकदोहोरी मेला’ आजदेखि काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबमा सुरु हुँदैछ।
टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा भदौ ५ देखि ७ गतेसम्म आयोजना हुने मेलामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारसँगै चलचित्र तथा सांस्कृतिक क्षेत्रका स्थापित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
मेलाको पहिलो दिन भुवन केसी, दिनेश डीसी, दुर्गेश थापा, नीर शाह, शिव श्रेष्ठ, ज्योति मगर, कृष्ण कँडेल, दुर्गा रायमाझी, नारायण रायमाझी, रीता थापा, प्रेम लोचन, सम्झना लामिछाने, सुरेश अधिकारी, पुष्कल शर्मा र चन्द्र शर्मालगायत कलाकार तथा विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ।
तीन दिनसम्म चल्ने मेलामा लोकसंगीत र दोहोरीका चर्चित कलाकारको प्रत्यक्ष प्रस्तुति, सांगीतिक कार्यक्रम तथा विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन्। क्लबमा नियमित रूपमा आबद्ध करिब ६० कलाकारले पनि विशेष प्रस्तुति दिनेछन्।
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीले आफू करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै नयाँ र स्थापित दुवै पुस्ताका कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।
उनका अनुसार टप दरबार रोधीमार्फत नेपाली लोकसंगीत र कलाकारितालाई अझ व्यवस्थित रूपमा अघि बढाउने तथा नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ।
रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारिवारिक वातावरणमा विकास गर्ने उद्देश्यसमेत रहेको गिरीले बताए।
करिब सात करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधी क्लबमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबले प्रत्यक्ष रूपमा १०० भन्दा बढीलाई रोजगारी दिएको जनाएको छ।
नेपाली मौलिक परिकार, स्तरीय सेवा, आधुनिक प्रविधि, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा विकास गरिएको छ।
आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य नेपाली मौलिक लोकसंगीत, कला, संस्कृति तथा रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै स्थापित कलाकार र नयाँ प्रतिभाबीच सहकार्यको वातावरण निर्माण गर्नु हो।
टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङ तथा लोकदोहोरी मेला भदौ ७ गतेसम्म प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा आयोजना हुँदैछ।





