झापामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या छ पुग्यो

ड्रागन मिडिया सम्वाददाता
वर्षायाम शुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको संख्या छ पुगेको हो।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार ती महिलाको गत साता मृत्यु भएको हो। यससँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिस संक्रमितको संख्या ११ पुगेको छ।
हालसम्म संक्रमणबाट चार महिला र दुई पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमण बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई तीव्र बनाइएको छ। सम्भावित संक्रमितको पहिचान, अवस्थाको अनुगमन तथा रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली निरन्तर परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिए।
वर्षायाममा लामखुट्टेको सक्रियता बढ्ने भएकाले जापानिज इन्सेफ्लाइटिसको जोखिमसमेत बढ्ने गर्छ। स्वास्थ्य कार्यालयले संक्रमणको अवस्था निगरानी गर्दै आवश्यक परीक्षण र नियन्त्रणका उपायलाई निरन्तरता दिएको जनाएको छ।





