१८ भाद्र २०८३, बिहीबार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त

ड्रागन मिडिया सम्वाददाता

नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई पुनः नियुक्त गरेको छ।

भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

कार्की पहिलोपटक २०८० माघमा खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशक नियुक्त भएका थिए। तर २०८३ वैशाखमा सरकारले सार्वजनिक पदाधिकारीसम्बन्धी विशेष व्यवस्थासहित अध्यादेश जारी गरेपछि अर्थ मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीसँगै उनी पनि पदमुक्त भएका थिए।

त्यसपछि रिक्त कार्यकारी निर्देशक पदका लागि अर्थ मन्त्रालयले पुनः खुला प्रतिस्पर्धा गराएको थियो। छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक र वित्तीय कार्ययोजनाको मूल्याङ्कनपछि पाँच जनालाई अन्तिम चरणका लागि छनोट गरेको थियो। कार्की पनि ती उम्मेदवारमध्ये एक थिए।

कार्कीसँग केन्द्रीय बैंकिङका साथै बैंक तथा वित्तीय संस्थाको नेतृत्व गरेको अनुभव छ। उनले नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरेका छन्।

उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

कार्कीले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता, वित्तीय बजार विश्लेषण तथा वित्तीय संस्था व्यवस्थापनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।

सरकारको पछिल्लो निर्णयसँगै कार्की पुनः नागरिक लगानी कोषको कार्यकारी नेतृत्वमा फर्किएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button