१८ भाद्र २०८३, बिहीबार

विश्व सरसफाइ दिवस २०२६ पहिलोपटक चीनमा, शाओसिङले आयोजना गर्ने

ड्रागन मिडिया समाचार कक्ष

विश्व सरसफाइ दिवस २०२६ को विश्वव्यापी मुख्य कार्यक्रम चीनको पूर्वी चच्याङ प्रान्तस्थित शाओसिङ शहरमा आयोजना हुने भएको छ। चीन विश्व सरसफाइ दिवसको मुख्य कार्यक्रमको आयोजक राष्ट्रका रूपमा चयन भएको यो पहिलोपटक हो।

संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (UN-Habitat) की कार्यक्रम व्यवस्थापन अधिकृत तथा फोहोर व्यवस्थापन प्रमुख सेसिलिया एन्डरसनले शाओसिङमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम सेप्टेम्बर १९ देखि २१ सम्म सञ्चालन हुने जानकारी दिएकी छन्।

यस वर्षको कार्यक्रमको विषय ‘सफा थालदेखि सफा शहरसम्म’ राखिएको छ। यसले विशेषगरी खाद्य फोहोर न्यूनीकरण, जिम्मेवार उपभोग, स्रोतको प्रभावकारी प्रयोग र शहरी सरसफाइबीचको सम्बन्धलाई प्राथमिकता दिनेछ।

एन्डरसनका अनुसार फोहोर उत्पन्न भएपछि व्यवस्थापन गर्नेभन्दा स्रोतबाटै यसको उत्पादन रोक्नु र घटाउनु स्वच्छ, स्वस्थ तथा स्रोतको प्रभावकारी उपयोग गर्ने शहर निर्माणका लागि महत्त्वपूर्ण छ।

चीनको आवास तथा शहर ग्रामीण विकास मन्त्रालयका प्रमुख अर्थशास्त्री वाङ शेङचुनले विश्व सरसफाइ दिवसका उद्देश्य चीनले अघि बढाइरहेको आधुनिक र जनकेन्द्रित शहर निर्माणको अवधारणासँग निकट रहेको बताए।

उनका अनुसार कार्यक्रम आयोजना गर्दा चीनले विश्वका विभिन्न देशमा अपनाइएका प्रभावकारी अभ्यासबाट सिक्ने अवसर पाउनेछ भने शहरी विकासको गुणस्तर सुधार र नागरिकका लागि अझ राम्रो बसोबास वातावरण निर्माणमा पनि सहयोग पुग्नेछ।

आयोजक शहर शाओसिङ चीनमा खाद्य फोहोर घटाउने ‘क्लिन योर प्लेट’ अभियान प्रारम्भिक चरणदेखि कार्यान्वयन गर्ने शहरमध्ये एक हो। शहरले घरायसी फोहोर वर्गीकरण, सामुदायिक सरसफाइ तथा स्रोत संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सन् २०२१ मा शाओसिङले खाद्य फोहोर नियन्त्रणसम्बन्धी कार्ययोजना लागू गर्दै सरकारी निकाय, व्यवसाय, विद्यालय, समुदाय र सर्वसाधारणलाई खाद्य बचत तथा मितव्ययी उपभोगमा सहभागी गराएको थियो।

विश्व सरसफाइ दिवसको कार्यक्रम आयोजना हुन लाग्दा चीनले राष्ट्रिय स्तरमा ठोस फोहोर व्यवस्थापन तथा हरित रूपान्तरणलाई पनि तीव्र बनाएको छ। चीनले यस वर्ष ठोस फोहोरको स्रोत नियन्त्रण, सङ्कलन, ढुवानी, पुनःप्रयोग र सुरक्षित व्यवस्थापन क्षमता विस्तार गर्ने कार्ययोजना सार्वजनिक गरेको छ।

सन् २०३० सम्म ठूलो परिमाणमा उत्पादन हुने ठोस फोहोरको वार्षिक समग्र उपयोग करिब ४.५ अर्ब टन पुर्‍याउने र प्रमुख नवीकरणीय स्रोतको वार्षिक पुनर्चक्रण ५१ करोड टन पुर्‍याउने लक्ष्य राखिएको छ।

चीनको १५औँ पञ्चवर्षीय योजना अवधि २०२६ देखि २०३० सम्म ठोस फोहोरको व्यापक व्यवस्थापन, वातावरणीय जोखिम नियन्त्रण, नयाँ प्रकारका प्रदूषकको व्यवस्थापन तथा ‘फोहोररहित शहर’ निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।

संयुक्त राष्ट्र महासभाले सन् २०२३ मा सेप्टेम्बर २० लाई विश्व सरसफाइ दिवसका रूपमा घोषणा गरेको थियो। दिवसको उद्देश्य सरसफाइ अभियानलाई केवल फोहोर उठाउने गतिविधिमा सीमित नराखी दिगो विकास, जिम्मेवार उपभोग, स्रोत संरक्षण र स्वस्थ शहरी जीवनसँग जोड्नु हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button