चीन–दक्षिण कोरिया रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन वाङ यीको आह्वान

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध स्थापनाको आगामी वर्ष मनाइने ३५औँ वार्षिकोत्सवलाई अवसरका रूपमा उपयोग गर्दै दुई देशबीचको रणनीतिक सहकार्य साझेदारीलाई थप अघि बढाउनुपर्ने बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले बिहीबार सोलमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेटवार्ता गर्दै दक्षिण कोरियाले चीनप्रति मित्रवत तथा व्यावहारिक नीति निरन्तर अघि बढाउने विश्वास व्यक्त गरे।
वाङले यस वर्षको शुरुदेखि चीन र दक्षिण कोरियाबीचको सम्बन्धमा सकारात्मक सुधार देखिएको उल्लेख गर्दै तर्कसङ्गत, व्यावहारिक र सकारात्मक चीन नीतिले दक्षिण कोरियाको हितलाई सहयोग गर्ने बताए।
उनले चीनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय द्वन्द्वको राजनीतिक समाधानका लागि संवादलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे। बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा चीन विश्वव्यापी स्थिरताको महत्वपूर्ण शक्ति रहेको उनको भनाइ थियो।
आर्थिक क्षेत्रमा वाङले चीन आफ्ना विकास अवसर अन्य मुलुक, विशेषगरी छिमेकी देशहरूसँग साझा गर्न इच्छुक रहेको बताए। विश्व अर्थतन्त्रमा विभाजन र व्यापार संरक्षणवाद बढिरहेको अवस्थामा चीन र दक्षिण कोरियाले क्षेत्रीय आर्थिक एकीकरण तथा खुला विश्व अर्थतन्त्रको पक्षमा उदाहरण प्रस्तुत गर्नुपर्ने उनको धारणा थियो।
यसका लागि दुई देशबीचको स्वतन्त्र व्यापार सम्झौताको दोस्रो चरणसम्बन्धी वार्ता शीघ्र निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए। चीन र दक्षिण कोरियाबीचको व्यापार तथा आर्थिक सहकार्यलाई कृत्रिम बौद्धिकता, हरित रूपान्तरण, डिजिटल अर्थतन्त्र र उच्च प्रविधिलगायत क्षेत्रमा विस्तार गर्ने विषयमा पनि दुई पक्षबीच छलफल भइरहेको छ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पछिल्लो समय चीन–दक्षिण कोरिया सम्बन्ध तीव्र रूपमा सुधार भइरहेको र आर्थिक तथा व्यापारिक सहकार्यमा सकारात्मक गति देखिएको बताए।
उनले यस वर्ष दुई देशबीचको जनस्तरीय आवागमन एक करोडभन्दा बढी पुग्ने अपेक्षा गरिएको उल्लेख गर्दै दक्षिण कोरियाली जनतामा चीनप्रतिको धारणा पनि सुधार हुँदै गएको बताए। चीनसँग व्यापक सहकार्य विस्तार गर्नुपर्ने अपेक्षा दक्षिण कोरियाभित्र बढिरहेको उनको भनाइ थियो।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र दक्षिण कोरियाबीचको रणनीतिक सहकार्य सुदृढ गर्नु दुवै देशको आधारभूत हितअनुकूल हुनुका साथै क्षेत्रीय शान्ति र स्थिरताका लागि पनि महत्वपूर्ण रहेको लीले बताए।
उनले दुवै देश एकअर्काका परिपूरक क्षमता भएका पारस्परिक लाभका साझेदार बन्नुपर्ने उल्लेख गर्दै अर्थतन्त्र, व्यापार र सुरक्षालगायत क्षेत्रमा चीन र दक्षिण कोरियालाई एकअर्काको आवश्यकता रहेको बताए।
लीले आगामी नोभेम्बरमा चीनको शनचनमा आयोजना हुने सन् २०२६ को एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) का आर्थिक नेताहरूको बैठकमा सहभागी हुन चीन भ्रमण गर्ने अपेक्षा व्यक्त गरे। उक्त भ्रमण दुई देशबीचको रणनीतिक सहकार्य साझेदारीलाई नयाँ तहमा पुर्याउने महत्वपूर्ण अवसर हुने उनको भनाइ थियो।
वाङको दक्षिण कोरिया भ्रमणका क्रममा उनले त्यहाँका विदेशमन्त्री चो ह्युन र राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार वी सुङ लाकसँग पनि भेटवार्ता गरेका छन्।
चीन र दक्षिण कोरियाले सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। आगामी वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ३५औँ वार्षिकोत्सव मनाइँदैछ।





