१८ भाद्र २०८३, बिहीबार

रास्वपाले सचिवालय विस्तार गर्‍यो, ११ सदस्य थपिए; प्रवक्तामा जगदिश खरेल

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गर्दै थप ११ जनालाई सदस्यमा मनोनयन गरेको छ। यससँगै पार्टीको सचिवालय १८ सदस्यीय बनेको छ।

शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर, मनिष झा र पुरुषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनयन गरेको हो।

बैठकले जगदिश खरेललाई पार्टी प्रवक्ता र डा. मनोहर प्रधानलाई कोषाध्यक्षमा मनोनयन गरेको छ। पुरुषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारीसमेत दिइएको छ।

यसअघि रास्वपाले पार्टी विधानअनुसार निर्वाचित पदाधिकारी समेटेर सात सदस्यीय सचिवालय गठन गरेको थियो।

उक्त सचिवालयमा सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्री असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका थिए।

शुक्रबारको निर्णयसँगै पार्टीको दैनिक कार्यसम्पादन, साङ्गठनिक समन्वय र निर्णय कार्यान्वयनमा भूमिका खेल्ने सचिवालयको दायरा फराकिलो भएको छ।

केन्द्रीय समिति बैठकले पार्टीका अन्य रिक्त पदाधिकारी तथा विभिन्न जिम्मेवारीमा पनि मनोनयन गरेको छ। रास्वपाले आगामी राजनीतिक तथा साङ्गठनिक गतिविधिलाई केन्द्रमा राखेर नेतृत्व संरचना विस्तार र जिम्मेवारी बाँडफाँट अघि बढाएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button