स्थानीय निर्वाचन तयारीमा रास्वपा, उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्ने निर्णय

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाउँदै ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखामा बैठकबाट प्राप्त सुझावसमेत समेटेर अन्तिम रूप दिने निर्णय गरेको हो।
महामन्त्री आचार्यका अनुसार बैठकले स्थानीय निर्वाचनका लागि गठन हुने केन्द्रीय उम्मेदवार छनोट समितिमा बस्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट नाम माग्ने निर्णयसमेत गरेको छ।
रास्वपाले स्थानीय तहमा उम्मेदवार छनोटलाई व्यवस्थित, पारदर्शी र मापदण्डमा आधारित बनाउने उद्देश्यले यसअघि नै रूपरेखाको प्रारम्भिक खाका तयार गरेको थियो। पार्टीले सम्भावित उम्मेदवार पहिचान र मूल्याङ्कनका लागि ‘क्यान्डिडेट क्लब’को अवधारणासमेत अघि सारेको छ।
बैठकले निर्वाचित जनप्रतिनिधिलाई निश्चित अवस्थामा मतदाताले कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउन सक्ने अवधारणासँग सम्बन्धित ‘राइट टु रिकल’ दस्तावेज तयार गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै, स्थानीय निर्वाचनको तयारीलाई तल्लो तहसम्म पुर्याउन केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूलाई देशभरका ४६० गाउँपालिकामा परिचालन गर्ने निर्णय भएको छ।
उनीहरूले स्थानीय निर्वाचनका लागि तयार गरिएको उम्मेदवार छनोट रूपरेखालगायत पार्टीका नीति तथा निर्वाचन तयारीसम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन्। उक्त कार्यक्रमको समन्वय सहमहामन्त्री निशा डाँगीले गर्नेछिन्।
बैठकले पार्टीको वैचारिक, नीतिगत तथा साङ्गठनिक विषय समेट्ने गरी आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।
रास्वपाले मधेशमा जिल्ला तथा प्रदेश अधिवेशन शुरु गर्नुअघि पार्टीको साङ्गठनिक अवस्थाको लेखाजोखा गर्ने भएको छ। यसका लागि सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ।
समितिमा मधेशबाहेक अन्य प्रदेशका केन्द्रीय समिति सदस्यहरूलाई समावेश गरिने महामन्त्री आचार्यले जानकारी दिए।
रास्वपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट, संगठन विस्तार, प्रशिक्षण तथा आन्तरिक मूल्याङ्कनलाई एकैसाथ अघि बढाउने रणनीति लिएको पछिल्ला निर्णयहरूले देखाएका छन्।





