‘मास्टर्नी’ प्रदर्शनमा, प्रियंका कार्कीको कथामा अपराध र पारिवारिक द्वन्द्व

ड्रागन मिडिया सम्वाददाता
प्रियंका कार्की अभिनीत नेपाली चलचित्र ‘मास्टर्नी’ शुक्रबारदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आएको छ। अपराध, रहस्य र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको चलचित्रले एक आमा र छोरीको जीवनमा आइपर्ने जटिल परिस्थितिलाई मुख्य कथावस्तु बनाएको छ।
शुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्र आयंका फिल्म्सको निर्माण हो। चलचित्रमा प्रियंका कार्की, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरि, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का र रक्षा थापालगायत कलाकारको अभिनय छ।
चलचित्रको कथा प्रियंका कार्कीले तयार गरेकी हुन् भने पटकथा शान बस्न्यातले लेखेका छन्। संवाद लेखनमा कार्की र बस्न्यातले सहकार्य गरेका छन्।
सार्वजनिक ट्रेलरले प्रभावशाली राजनीतिक परिवारसँग जोडिएको एक युवती बेपत्ता भएपछि उत्पन्न घटनाक्रम र आफ्नी छोरीलाई जोगाउन संघर्षरत आमाको कथालाई संकेत गर्छ।
नेपाली चलचित्रमा पारिवारिक संवेदना र अपराध रहस्यलाई एकै कथामा जोड्ने प्रयासका कारण ‘मास्टर्नी’ले प्रदर्शनअघि नै दर्शकको चासो पाएको थियो। बुधबारदेखि यसको अग्रिम टिकट बिक्री खुला गरिएको थियो।





