देशभर मनसुन सक्रिय, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले शनिबार देशका अधिकांश क्षेत्रमा मौसम साधारणतया बदली रहने भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षा हुने क्षेत्रमा छोटो समयमा पानीको बहाव बढ्न सक्ने भएकाले खोला, नदी र कमजोर भूभाग आसपास विशेष सतर्कता आवश्यक रहने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा राति मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार राति कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण संवेदनशील क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मौसम तथा वर्षाको अवस्था छोटो अवधिमै परिवर्तन हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने अद्यावधिक पूर्वानुमान र चेतावनी नियमित रूपमा हेर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।





