तस्करी प्रकरणमा विवादित सई शर्मा जिल्ला प्रहरी कार्यालय सप्तरी तानिए

ड्रागन मिडिया सम्वाददाता
भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको आरोपपछि विवादमा परेका इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायब निरीक्षक शिवशंकर शर्मा जिल्ला प्रहरी कार्यालय सप्तरी तानिएका छन्।
सप्तरीको बोदेबरसाइन नगरपालिका–५ मा साउन १८ गते भारतबाट भन्सार छली गरी ल्याइएको भनिएको मोबाइलका पार्टपुर्जा र मोटरसाइकलसहित सुनिल मण्डललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। मण्डललाई मोटरसाइकल र सामानसहित इलाका प्रहरी कार्यालय बोदेबरसाइन लगिएको थियो।
घटनामा मुख्य कारोबारी भनिएका देवकुमार यादव मण्डललाई छुटाउन प्रहरी कार्यालय पुगेपछि उनलाई समेत नियन्त्रणमा लिइएको स्थानीयको दाबी छ। तर त्यसपछि घटनाको अनुसन्धान र कानुनी कारवाही अघि बढाउनुको सट्टा नियन्त्रणमा रहेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको आरोप लागेपछि प्रहरीको भूमिका विवादमा परेको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको आधिकारिक विवरण र स्थानीयले बताएको घटनाक्रमबीच भने महत्वपूर्ण भिन्नता देखिएको छ। जिल्ला प्रहरी कार्यालयले साउन २१ गते जारी गरेको विवरणमा साउन १९ गते राति करिब १२ः३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोकबाट नम्बर प्लेट नभएको रातो रङको हिरो एक्स्ट्रिम १६० सीसी मोटरसाइकल र मोबाइलसम्बन्धी विभिन्न सामान बरामद गरिएको उल्लेख गरेको थियो।
प्रहरीको आधिकारिक विवरणअनुसार प्रहरी टोलीलाई देखेपछि सम्बन्धित व्यक्ति मोटरसाइकल र बोरा छाडेर फरार भएका थिए। पछि बोराको जाँच गर्दा मोबाइलसम्बन्धी सामान फेला परेको प्रहरीको भनाइ थियो। स्थानीयले भने सामान, मोटरसाइकल र व्यक्तिलाई साउन १८ गते अपराह्न करिब ३ः३० बजे नै नियन्त्रणमा लिइएको दाबी गरेका छन्।
घटनाको समय, स्थान तथा पक्राउसम्बन्धी विवरणमै फरक देखिएपछि इलाका प्रहरी कार्यालय बोदेबरसाइनको भूमिकामाथि प्रश्न उठेको हो। घटनासम्बन्धी मुचुल्का र माथिल्लो निकायमा पठाइएको विवरणसमेत वास्तविक घटनाक्रमसँग मेल नखाएको आरोप सार्वजनिक भएको छ।
विषय सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रहरी श्रोतका अनुसार प्रारम्भिक छानबिनका क्रममा सई शर्माले घटनासम्बन्धी गलत विवरण माथिल्लो निकायमा पेस गरेको देखिएको छ। यद्यपि छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भइसकेको छैन।
घटना थप विवादित बन्दै गएपछि शुक्रबार सई शर्मालाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनको जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा झिकाइएको हो।
तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेको प्रहरीकै भूमिकामाथि प्रश्न उठेको यो घटनामा नियन्त्रणमा लिइएका भनिएका व्यक्तिलाई किन छाडियो, घटनाको आधिकारिक विवरण किन स्थानीयको विवरणसँग फरक पर्यो र कसको निर्देशन वा संलग्नतामा त्यस्तो अवस्था सिर्जना भयो भन्ने विषय छानबिनको मुख्य केन्द्र बन्ने देखिएको छ।





