विश्व कृषि खाद्य नवप्रवर्तन सम्मेलन सेप्टेम्बरमा बेइजिङमा, हरित रूपान्तरण मुख्य विषय

ड्रागन मिडिया समाचार कक्ष
सन् २०२६ को विश्व कृषि खाद्य नवप्रवर्तन सम्मेलन (WAFI 2026) आगामी सेप्टेम्बर १७ देखि १९ सम्म चीनको राजधानी बेइजिङको उत्तरपूर्वी पिङगु जिल्लामा आयोजना हुने भएको छ। यस वर्षको सम्मेलन ‘कृषि खाद्य प्रणालीको हरित तथा स्वस्थ रूपान्तरण’ विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार तीनदिने कार्यक्रममा उद्घाटन समारोह, समानान्तर सत्र, विषयगत मञ्च, विशेष बैठक, सहायक कार्यक्रम, नवप्रवर्तन प्रदर्शनी तथा कृषि खाद्यसम्बन्धी प्रदर्शनी आयोजना गरिनेछ। सम्मेलनले कृषि उत्पादनदेखि खाद्य वितरण, प्रविधि, वातावरण, पोषण र दिगो विकाससम्मका विषयलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ।
यस वर्षको महत्वपूर्ण कार्यक्रममध्ये खाद्य क्षति तथा फोहोर न्यूनीकरणसम्बन्धी ‘च्याम्पियन्स १२.३ वार्षिक मञ्च’ पहिलोपटक चीनमा आयोजना हुँदैछ। खाद्य उत्पादनदेखि उपभोगसम्म हुने क्षति कम गर्ने विश्वव्यापी प्रयासलाई तीव्र बनाउने उद्देश्यले विभिन्न देशका नीति निर्माता, विशेषज्ञ र व्यावसायिक क्षेत्रका प्रतिनिधि उक्त मञ्चमा सहभागी हुनेछन्।
यसैगरी AKADEMIYA2063 चीन–अफ्रिका कृषि खाद्य प्रणाली हरित नवप्रवर्तन मञ्च पनि सम्मेलनको प्रमुख आकर्षण रहनेछ। यसले डिजिटल बुद्धिमत्ता, जैविक अर्थतन्त्र तथा कृषि खाद्य प्रणालीको हरित रूपान्तरणमा चीन र अफ्रिकाबीच सम्भावित सहकार्यलाई केन्द्रमा राख्नेछ। दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकासँग छुट्टाछुट्टै क्षेत्रीय आदानप्रदान बैठक पनि आयोजना गरिने भएका छन्।
आयोजकका अनुसार सम्मेलनमा तीन पूर्वराष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित विश्वका करिब ३०० विद्वान, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, व्यवसायी र युवा नवप्रवर्तक सहभागी हुने पुष्टि भइसकेको छ। ताइवान क्षेत्रका युवा तथा उद्यमीलाई समेत विशेष निमन्त्रणा दिइएको छ, जसलाई कृषि क्षेत्रमा ताइवान जलडमरूमध्य वारपार सहकार्य विस्तार गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।
सम्मेलनका क्रममा ‘ग्लोबल एग्रिफुड इनोभेसन एलायन्स’ अर्थात विश्व कृषि खाद्य नवप्रवर्तन गठबन्धन शुभारम्भ गर्ने तयारी छ। यसले कृषि खाद्य प्रणालीमा अनुसन्धान, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्यलाई जोड्ने दीर्घकालीन मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
पिङगुमा राष्ट्रिय कृषि विज्ञान तथा प्रविधि नवप्रवर्तन केन्द्रसहित १५ वटा नमुना स्थलसमेत सम्मेलनका सहभागीसमक्ष प्रस्तुत गरिनेछन्। यी स्थलमार्फत स्मार्ट कृषि, आधुनिक उत्पादन प्रविधि, जैविक नवप्रवर्तन र कृषि उद्योगको व्यावसायिक रूपान्तरणसम्बन्धी प्रयोग तथा उपलब्धि देखाइनेछ।
सम्मेलनअन्तर्गतको WAFI नवप्रवर्तन प्रस्तुति कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाउनेछ। यस कार्यक्रमले यसअघि अनलाइन माध्यमबाट ५० लाखभन्दा बढी दर्शक आकर्षित गरिसकेको आयोजकको भनाइ छ। यसपटक विभिन्न विषयमा केन्द्रित छुट्टाछुट्टै प्रस्तुतिमार्फत नयाँ कृषि प्रविधि, उद्यम तथा अनुसन्धान परियोजना सार्वजनिक गरिनेछन्।
सम्मेलन चीन कृषि विश्वविद्यालय, पिङगु जिल्ला सरकार, बेइजिङ नगर कृषि तथा ग्रामीण मामिला ब्युरो र CGIAR को संयुक्त आयोजनामा हुँदैछ। सन् २०२३ मा शुरु भएको WAFI कृषि खाद्य प्रणालीमा एकीकृत नवप्रवर्तन प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय मञ्चका रूपमा विकास भइरहेको छ। हालसम्म यसमा ९४ देश तथा क्षेत्रका प्रतिनिधि सहभागी भइसकेका छन्।
आयोजक पिङगु जिल्लाले सम्मेलनमार्फत संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन र विश्व खाद्य कार्यक्रमलगायत अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य थप विस्तार गर्ने लक्ष्य राखेको छ। यसबाट विश्वका कृषि अनुसन्धान संस्था, प्रविधि कम्पनी, लगानीकर्ता र नवप्रवर्तन परियोजनालाई पिङगुतर्फ आकर्षित गर्दै उच्च गुणस्तरीय कृषि परियोजना तथा उद्यम स्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विश्वव्यापी रूपमा जलवायु परिवर्तन, खाद्य सुरक्षा, कृषि उत्पादन लागत, प्राकृतिक श्रोतको दबाब र खाद्य फोहोर प्रमुख चुनौतीका रूपमा देखिइरहेका बेला WAFI 2026 ले प्रविधि, नीति र अन्तर्राष्ट्रिय सहकार्यलाई जोडेर कृषि खाद्य प्रणालीलाई अधिक हरित, स्वस्थ र दिगो बनाउने उपायमाथि छलफल गर्नेछ।





