१८ भाद्र २०८३, बिहीबार

चीनमा बाल हेरचाह र पूर्वप्राथमिक शिक्षा सहुलियत विस्तार, करोडौँ बालबालिका लाभान्वित

ड्रागन मिडिया समाचार कक्ष

चीनमा साना बालबालिका भएका परिवारको आर्थिक भार कम गर्ने उद्देश्यले लागू गरिएका बाल हेरचाह अनुदान र पूर्वप्राथमिक शिक्षामा शुल्क छुटसम्बन्धी कार्यक्रमबाट करोडौँ बालबालिका लाभान्वित भएका छन्।

चीनको अर्थ मन्त्रालयको बजेट विभागका निर्देशक वाङ सिनस्याङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देशभरका बालविकास केन्द्र तथा किन्डरगार्टेनमा अध्ययनरत करिब २ करोड ४० लाख बालबालिकाले पूर्वप्राथमिक शिक्षाको अन्तिम वर्षमा बाल हेरचाह तथा शैक्षिक शुल्क छुटको सुविधा पाएको जानकारी दिए। चीनले सन् २०२५ को शरद् सत्रदेखि सार्वजनिक किन्डरगार्टेनमा अन्तिम वर्ष अध्ययन गर्ने बालबालिकाका लागि यस्तो शुल्क हटाउन शुरु गरेको थियो। स्वीकृत निजी किन्डरगार्टेनमा अध्ययन गर्ने योग्य बालबालिकालाई पनि स्थानीय सार्वजनिक संस्थाको शुल्क छुटको स्तरअनुसार सहुलियत दिने व्यवस्था गरिएको छ।

यसैगरी सन् २०२६ का लागि तीन वर्षमुनिका २ करोड ५० लाखभन्दा बढी शिशु तथा बालबालिकाले प्रत्यक्ष बाल हेरचाह अनुदान प्राप्त गरिसकेका छन्। चीनले सन् २०२५ मा राष्ट्रव्यापी बाल हेरचाह अनुदान कार्यक्रम शुरु गर्दै तीन वर्षमुनिका प्रत्येक योग्य बालबालिकाका लागि वार्षिक ३ हजार ६ सय युआन करमुक्त सहायता उपलब्ध गराउने व्यवस्था गरेको थियो। यो मासिक ३०० युआन बराबरको सहायता हो।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसअघि सन् २०२६ मा २ करोड ५१ लाख ६० हजारभन्दा बढी बालबालिकालाई अनुदान वितरण भइसकेको जनाएको थियो। कार्यक्रम सञ्चालनका लागि केन्द्रीय सरकारले यस वर्ष ९९ अर्ब ९० करोड युआन विनियोजन गरेको छ भने केन्द्रीय र स्थानीय सरकारको संयुक्त खर्च करिब ११० अर्ब युआन पुग्ने अनुमान गरिएको छ।

सरकारले नगद अनुदानसँगै बाल हेरचाह सेवा, पूर्वप्राथमिक शिक्षा, प्रसूति स्वास्थ्य, आवास सहायता र परिवारमैत्री सार्वजनिक सेवाको विस्तारलाई पनि अघि बढाइरहेको छ। यस वर्ष देशभर थप १ लाख ५० हजार सहुलियतपूर्ण बाल हेरचाह स्थान सिर्जना गर्ने तथा थप आधारभूत स्वास्थ्य संस्थालाई बालबालिकामा देखिने सामान्य रोगको उपचार गर्न सक्षम बनाउने योजना पनि अघि सारिएको छ।

चीनमा जन्मदरमा आएको दीर्घकालीन गिरावट र वृद्ध जनसंख्याको अनुपात बढ्दै गएपछि परिवारलाई बच्चा जन्माउन र हुर्काउन लाग्ने आर्थिक तथा सामाजिक खर्च कम गर्ने नीति सरकारको प्रमुख प्राथमिकता बनेको छ। सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजनामा पनि जन्ममैत्री समाज निर्माण, बाल हेरचाह सेवा विस्तार, शिक्षा खर्च न्यूनीकरण र परिवारलाई प्रत्यक्ष आर्थिक सहयोगलाई महत्वपूर्ण नीतिगत क्षेत्रका रूपमा समेटिएको छ।

बाल हेरचाह अनुदान र पूर्वप्राथमिक शिक्षाको शुल्क छुटलाई चीनले जनसांख्यिक चुनौतीको दीर्घकालीन समाधानका लागि अघि सारेको व्यापक नीतिगत प्याकेजको हिस्सा मानेको छ। यी कार्यक्रमको उद्देश्य परिवारको तत्काल आर्थिक भार घटाउनुका साथै बच्चा जन्माउने र हुर्काउने वातावरणलाई थप अनुकूल बनाउनु रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button