१८ भाद्र २०८३, बिहीबार

विपन्न तीन परिवारलाई हलेसी तुवाचुङ नगरपालिकाले बनाइदियो नयाँ घर

ड्रागन मिडिया सम्वाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक विपन्नताका कारण घर निर्माण गर्न नसकेका तीन परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रतिपरिवार पाँच लाख रुपैयाँको लागतमा दुई कोठे एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरेको हो। नगरपालिकाको १३६औँ कार्यपालिका बैठकको निर्णयअनुसार ती घर निर्माण गरिएको जनाइएको छ।

नयाँ घर पाउनेमा वडा नं २ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका भया दमाई र वडा नं १० अर्खौलेका टेकबहादुर सार्कीका परिवार छन्। आफ्नै सुरक्षित आवास नहुँदा लामो समयदेखि कठिन अवस्थामा बस्दै आएका ती परिवार नयाँ घर पाएपछि खुसी भएका छन्।

डिकुवाका वृद्ध देशवीर राई दम्पती यसअघि जीर्ण कटेरोमा बस्दै आएका थिए। मङ्गलटारका अपाङ्गता भएका दाजुबहिनी चामे र भया दमाईको आवास अवस्था पनि कमजोर थियो।

यस्तै, १२ वर्षपछि गाउँ फर्किएका टेकबहादुर सार्कीको परिवार अर्काको घरमा आश्रय लिएर बसिरहेको थियो। दिक्तेलमा रहँदा १२ वर्षीया छोरी गुमाएपछि गाउँ फर्किएको सार्की परिवारलाई नगरपालिकाले यसअघि खाद्यान्न तथा नगद सहयोगसमेत उपलब्ध गराएको थियो।

नगर प्रमुख विमला राईका अनुसार नगरपालिकाभित्रका सबै नागरिकलाई सुरक्षित आवासको प्रत्याभूति गराउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो। काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा अस्थायी रूपमा बस्दै आएका र पछि गाउँ फर्किन चाहने नगरवासीलाई पनि आफ्नो नाममा जग्गा भए प्रतिपरिवार पाँच लाख रुपैयाँ बराबरको घर निर्माण गरिदिने नगरपालिकाको योजना रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button