नख्खु कारागारसहित तीन स्थानमा निःशुल्क आँखा शिविर, एक हजार २२६ जनाको परीक्षण

ड्रागन मिडिया सम्वाददाता
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार, कुपण्डोलस्थित गुरुद्वारा र काठमाडौँको सुकेधारास्थित एजिङ केयर सेन्टरमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट एक हजार २२६ जना लाभान्वित भएका छन्।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँका अनुसार शिविरमा कैदीबन्दी, थुनुवा, कारागारका कर्मचारी, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराइएको थियो।
नख्खु कारागारमा आयोजित शिविरमा मात्रै ९०७ जनाको आँखा परीक्षण गरिएको थियो। विशेषज्ञसहित आठ सदस्यीय टोलीले परीक्षण गर्दा २० जनामा मोतिबिन्दु पहिचान भएको छ भने ४२१ जनालाई औषधि उपलब्ध गराइएको छ। मोतिबिन्दु देखिएका व्यक्तिको कारागार व्यवस्थापनसँग समन्वय गरी अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ।
त्यस्तै, पढ्न र लेख्न समस्या देखिएका १४६ जना कैदीबन्दीलाई निःशुल्क चस्मा तथा औषधि उपलब्ध गराइएको छ। शिविरमै उपचार सम्भव नभएका ९२ जनालाई थप उपचारका लागि नेपाल आँखा अस्पताल पठाउन सिफारिस गरिएको छ। सो अवसरमा कैदीबन्दी, थुनुवा तथा कर्मचारीलाई आँखा स्वास्थ्य, सुरक्षा र हेरचाहसम्बन्धी अभिमुखीकरणसमेत प्रदान गरिएको थियो।
नेपाल आँखा अस्पतालले केन्द्रीय कारागार, नख्खु कारागार तथा डिल्लीबजारस्थित सदरखोरसँग सम्झौता गरी त्यहाँ रहेका कैदीबन्दी, थुनुवा र कर्मचारीलाई नियमित आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ।
यसैगरी, लायन्स क्लब अफ नीलबाराही र ललितपुर महानगरपालिका–१० को सहजीकरणमा कुपण्डोलस्थित गुरुद्वारामा सञ्चालन गरिएको शिविरमा २१४ जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये आठ जनामा मोतिबिन्दु पहिचान भएको छ। एक सय जनालाई पढ्न र लेख्न सहयोग गर्ने चस्मा, १४१ जनालाई औषधि उपलब्ध गराइएको छ भने १९ जनालाई थप उपचारका लागि अस्पताल जान सिफारिस गरिएको छ।
सुकेधारास्थित एजिङ केयर सेन्टरमा आयोजित अर्को शिविरमा १०५ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सेन्टरका नौ जना र स्थानीय समुदायका पाँच जना गरी १४ जनामा मोतिबिन्दु पहिचान भएको छ। सेन्टर र समुदायका गरी २२ जनालाई नजिकको अक्षर पढ्न सहयोग गर्ने चस्मा निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ।
एजिङ केयर सेन्टरमा आयोजित शिविरको उद्घाटन नेपाल आँखा अस्पतालका कार्यसमिति सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर राजाराम श्रेष्ठले गरेका थिए।





