ढोरपाटनको सरस्वती माविमा १२ नयाँ कक्षाकोठा, पठनपाठन सहज

ड्रागन मिडिया सम्वाददाता
बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण भएपछि लामो समयदेखि रहेको कक्षाकोठा अभावको समस्या समाधान भएको छ।
गोर्खा वेलफेयर ट्रस्ट नेपालले दुई करोड ६८ लाख रुपैयाँको लागतमा आठ महिनाभित्र सुविधा सम्पन्न भवन निर्माण गरेको हो। दुर्गम क्षेत्रमा रहेको विद्यालयमा हाल ४३१ विद्यार्थी अध्ययनरत छन्।
विद्यालयका प्रधानाध्यापक थमप्रकाश जैसीका अनुसार पर्याप्त कक्षाकोठा नहुँदा यसअघि एउटै कोठामा ६० जनासम्म विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने अवस्था थियो। विद्यार्थी सङ्ख्या बढी भएका कक्षा पाँच, सात र आठलाई दुई–दुई समूहमा विभाजन गरेर पठनपाठन सञ्चालन गरिएको थियो।
कक्षाकोठा अपुग हुँदा ट्रसको छाप्रो र पक्की भवनको भर्याङमुनिसमेत कक्षा सञ्चालन गर्नुपरेको जैसीले बताए। बालविकासदेखि कक्षा १० सम्म नियमित पठनपाठनका लागि कम्तीमा ११ कोठा आवश्यक भए पनि उपलब्ध पूर्वाधार पर्याप्त थिएन।
नयाँ भवनमा १२ कक्षाकोठा थपिएपछि नियमित कक्षा सञ्चालनसँगै प्रयोगशाला, पुस्तकालयलगायत शैक्षिक प्रयोजनका लागि समेत आवश्यक स्थान उपलब्ध भएको विद्यालयले जनाएको छ।
भवन निर्माणमा भएको कुल लगानीमध्ये १० प्रतिशत बराबर स्थानीय समुदायको श्रमदानसमेत समावेश गरिएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोग र स्थानीय समुदायको सहभागितामा निर्माण भएको नयाँ पूर्वाधारले दुर्गम क्षेत्रका विद्यार्थीलाई थप सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरेको छ।





