१८ भाद्र २०८३, बिहीबार

साढे दुई दशकपछि हेटौँडा कपडा उद्योगमा फेरि चल्न थाले लुम

ड्रागन मिडिया सम्वाददाता

साढे दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा पुराना मेसिन मर्मत र आधुनिकीकरणपछि पुनः कपडा उत्पादन हुन थालेको छ। सरकारले उद्योग पुनःसञ्चालनको तयारी अघि बढाएसँगै हाल १० वटा लुमबाट परीक्षण उत्पादन भइरहेको छ भने थप मेसिन सञ्चालनयोग्य बनाउने काम जारी छ।

उद्योगमा रहेका पुराना लुममध्ये तीनवटालाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित बनाएपछि उत्पादन क्षमतामा उल्लेख्य वृद्धि भएको प्राविधिकहरूले बताएका छन्। पहिले एउटा लुमबाट आठ घण्टामा करिब २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित प्रणाली जडानपछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म उत्पादन गर्न सकिने भएको छ।

पुराना मेसिन लामो समयसम्म प्रयोगविहीन हुँदा छाला र काठबाट बनेका केही पार्टपुर्जा नष्ट भए पनि मुख्य फलामे संरचना भने प्रयोगयोग्य अवस्थामा रहेको प्राविधिकहरूको भनाइ छ। डबी, ब्रेक, क्लचलगायत आवश्यक उपकरण परिवर्तन गर्दै मेसिनलाई आधुनिक प्रणालीमा लैजाने काम भइरहेको छ।

पुराना सटल लुमका केही पार्टपुर्जा अहिले सहज रूपमा उपलब्ध नभए पनि तिनलाई र्यापियर प्रविधि अर्थात बिना सटल सञ्चालन हुने आधुनिक बुनाइ प्रणालीमा रूपान्तरण गर्न सकिने प्राविधिक राजप्रसाद अमात्यले बताएका छन्। आवश्यक पार्टपुर्जा चीन र ताइवानलगायत स्थानबाट आयात गर्न सकिने उनले बताए।

सरकारले गत असार १८ गते उद्योग पुनःसञ्चालनका लागि सैद्धान्तिक स्वीकृति दिएपछि नेपाली सेनालाई उद्योग परिसरको सरसफाइ, विद्युत प्रणाली सुधार, मेसिन मर्मत, परीक्षण उत्पादन तथा प्राविधिक अवस्थाको अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो। प्रारम्भिक परीक्षण र मर्मतका लागि सरकारले ३३ लाख रुपैयाँ उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योगमा खटिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत निरीक्षण गरी परीक्षण उत्पादन र मेसिन मर्मतको अवस्थाबारे जानकारी लिएकी छन्। हाल २० वटा लुम सञ्चालनयोग्य बनाउने काम अघि बढेको र तीमध्ये १० वटा सञ्चालनमा आइसकेको जानकारी उनलाई गराइएको थियो।

परीक्षण उत्पादनका लागि आवश्यक कच्चापदार्थ हाल स्वदेशी उद्योगबाट ल्याइएको छ। सरकारले दीर्घकालीन रूपमा स्वदेशमै कपास उत्पादन बढाउने र किसानबाट उत्पादित कपास खरिद गर्ने योजना अघि सारेको छ। उद्योग पूर्ण रूपमा सञ्चालनमा आए साडी, तन्ना, कोरा, रङ्गीन तथा बुट्टेदार कपडासँगै निजामती कर्मचारी र सुरक्षा निकायका लागि आवश्यक पोशाकका कपडासमेत उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको हेटौँडा कपडा उद्योगले विसं २०३५ देखि उत्पादन शुरु गरेको थियो। पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले करिब एक हजार दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो। तर राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, पुरानो प्रविधि, बन्द हडताल र निरन्तर आर्थिक घाटाका कारण उद्योग अन्ततः बन्द भएको थियो।

पुराना लुमबाट पुनः कपडा उत्पादन शुरु हुनु उद्योग पुनर्जीवनतर्फको प्रारम्भिक कदम भए पनि नियमित व्यावसायिक उत्पादनका लागि थप लगानी, प्रविधि आधुनिकीकरण, कच्चापदार्थको स्थायी आपूर्ति, बजार सुनिश्चितता र सक्षम व्यवस्थापन आवश्यक रहनेछ। परीक्षण उत्पादनको सफलतालाई दिगो औद्योगिक सञ्चालनमा रूपान्तरण गर्न सक्नु नै अब सरकारका लागि मुख्य चुनौती हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button