१७ भाद्र २०८३, बुधबार

सरकारसँग सहमतिपछि सिमराको आन्दोलन फिर्ता, वीरगञ्ज–पथलैया सडक सञ्चालनमा

ड्रागन मिडिया सम्वाददाता

तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबारदेखि अवरुद्ध वीरगञ्ज–पथलैया सडक खण्ड आइतबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। सरकार र पीडित परिवारबीच शनिबार राति गृह मन्त्रालयमा तीनबुँदे सहमति भएपछि स्थानीयबासीले सडक आन्दोलन फिर्ता लिएका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेमा स्थानीयबासी र पीडित परिवारले सडकमै टेन्ट राखेर चार दिनदेखि प्रदर्शन गर्दै आएका थिए। गृह मन्त्रालयमा सहमति भएको जानकारी पाएपछि शनिबार राति करिब १ बजे आन्दोलनकारीले सडक खाली गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

सडक खुलेसँगै आन्दोलनका कारण रोकिएका मालवाहक सवारी रातिदेखि नै गन्तव्यतर्फ लागेका छन्। आइतबार बिहानदेखि लामो तथा छोटो दूरीका यात्रुबाहक सवारी र मालवाहक गाडी निर्वाध रूपमा सञ्चालन हुन थालेपछि सिमरा क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ।

गत आइतबार बिहान घरबाट बेपत्ता भएकी तीन वर्षीया गरिमा चौधरीको शव दुई दिनपछि मंगलबार साँझ घरनजिकैको एक खाली घरमा फेला परेको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि यौन हिंसा गरी हत्या गरिएको देखिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

घटनापछि स्थानीयबासीले दोषीलाई हदैसम्मको कानुनी सजाय, बालबालिकाविरुद्ध हुने जघन्य अपराधसम्बन्धी कानुन थप कठोर बनाउनुपर्ने तथा घटनाको प्रारम्भिक खोजी र अनुसन्धानमा देखिएको कमजोरीमाथि कारवाही हुनुपर्ने माग राख्दै आन्दोलन शुरु गरेका थिए। आन्दोलन विस्तार हुँदै काठमाडौंसहित देशका विभिन्न स्थानमा समेत गरिमाका लागि न्यायको माग गर्दै प्रदर्शन भएका थिए।

शनिबार अपराह्न गृहमन्त्री सुधन गुरुङको पहलमा गरिमाका बुवा मनोजकुमार चौधरी र आमा मानमती चौधरीलाई वार्ताका लागि काठमाडौं ल्याइएको थियो। गृह मन्त्रालयमा गृहमन्त्रीसहित सम्बन्धित मन्त्रालयका मन्त्री र पीडित परिवारबीच राति तीनबुँदे सहमति भएको हो।

सहमतिअनुसार बालबालिकाविरुद्ध हुने जघन्य अपराधमा विद्यमान कसुर र सजायसम्बन्धी कानुनी व्यवस्था पुनरावलोकन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेछ। समितिले सात दिनभित्र कानुन तर्जुमा तथा संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्नेछ।

त्यस्तै, पीडित परिवारको मागअनुसार गरिमाको स्मृतिमा शालिक निर्माणका लागि सम्बन्धित निकायले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने र परिवारले आफ्नो रीति तथा संस्कारअनुसार बालिकाको अन्त्येष्टि गर्ने सहमति भएको छ।

यसअघि बिहीबार राति स्थानीय प्रशासन र आन्दोलनरत पक्षका केही प्रतिनिधिबीच पाँचबुँदे सहमति भए पनि पीडित परिवारले त्यसलाई स्वीकार गरेको थिएन। परिवारसँग प्रत्यक्ष रूपमा गृह मन्त्रालयमा भएको पछिल्लो सहमतिपछि मात्रै चार दिनदेखि जारी सडक आन्दोलन अन्त्य भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button