१७ भाद्र २०८३, बुधबार

पहिरोले फिदिम–फालौट सडक अवरुद्ध, सिदिनमा कृषि बालीमा समेत क्षति

ड्रागन मिडिया सम्वाददाता

शनिबार अपराह्न परेको वर्षापछि पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिन क्षेत्र प्रभावित भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि सदरमुकाम फिदिमलाई भारतसँगको सीमावर्ती फालौट र सन्दकपुर क्षेत्रसँग जोड्ने फिदिम–फालौट सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

विशेषगरी फालेलुङ–८ आकाशेदेखि वडा नं ७ को विहिदिन, वास्बोटे र ओगेम्बो हुँदै प्राङवुङ जोड्ने सडक खण्डका विभिन्न स्थानमा शनिबार साँझ पहिरो खसेको हो।

फालेलुङ–७ का वडाध्यक्ष टेकबहादुर केरुङका अनुसार सिदिन क्षेत्रमा कालोपत्रे सडकभन्दा माथिबाट खसेको पहिरोसँगै आएको लेदो, ढुङ्गा र माटोले सडक पुरिएको छ। पहिरोका कारण उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

यसैगरी फालेलुङ–७ कै धुँवाखोलामा आएको खहरेले सडक आसपासका क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। स्थानीय किसानले लगाएको अलैँची तथा खाद्यान्न बालीमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

पहिरो साँझपख खसेकाले तत्काल विस्तृत क्षतिको विवरण सङ्कलन गर्न तथा सडक खुलाउने काम शुरु गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। आइतबार बिहानदेखि प्रभावित क्षेत्रको अवस्था अध्ययन गरी पहिरो पन्छाउने र क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको छ।

फिदिम–फालौट सडक पाँचथर सदरमुकाम फिदिमबाट नांगीन, सिदिन र प्राङवुङ हुँदै भारतसँगको सीमावर्ती फालौट तथा सन्दकपुर क्षेत्र पुग्ने महत्वपूर्ण सडक हो। वर्षायाममा पहिरो र खहरेका कारण यो सडकका विभिन्न खण्ड पटकपटक अवरुद्ध हुँदै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button