१७ भाद्र २०८३, बुधबार

आज पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसँगै दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button