१७ भाद्र २०८३, बुधबार

नेपालगञ्ज उद्योग वाणिज्य संघमा चिरञ्जीवी ओलीको संयुक्त प्यानलको वर्चस्व, उपमहासचिवमा आचार्य विजयी

ड्रागन मिडिया सम्वाददाता

नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलले उपमहासचिवबाहेक अधिकांश पदमा जित हासिल गरेको छ।

अध्यक्षमा ओली एक हजार ३८६ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र व्यवसायी समूहका ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरेका छन्। ओलीले दाहाललाई एक हजार १२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

महिला उपाध्यक्षमा संयुक्त प्यानलकी रुपा ओझा एक हजार १६६ मतसहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरेकी छन्। महासचिवमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दिपेन्द्र जोशीले ४०८ मत प्राप्त गरेका छन्।

उपमहासचिवमा भने संयुक्त प्यानलका शिवप्रसाद दाहाल पराजित भएका छन्। स्वतन्त्र उम्मेदवार प्रदीप आचार्य ८६४ मत प्राप्त गर्दै विजयी भएका छन् भने दाहालले ८४२ मत पाएका छन्। दुई उम्मेदवारबीच २२ मतको अन्तर रहेको छ।

कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईले १८३ मत प्राप्त गरेका छन्।

कार्यसमिति सदस्यमा सन्तोष पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, शरद अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जहाँगीर मुसलमान, शरद रिजाल, सुरज भण्डारी र अतुलकुमार गुप्ता निर्वाचित भएका छन्।

यसअघि उद्योग उपाध्यक्षमा कमलकुमार कार्की, वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुलवाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्विरोध निर्वाचित भइसकेका थिए।

शनिबार सम्पन्न मतदानमा संघका तीन हजार ८६३ मतदातामध्ये एक हजार ८४७ जनाले मतदान गरेका थिए। अध्यक्षसहित अधिकांश पदमा संयुक्त प्यानलले फराकिलो मतान्तर कायम गरे पनि उपमहासचिवमा स्वतन्त्र उम्मेदवार आचार्यको जित निर्वाचनको प्रमुख फरक परिणाम बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button