गर्मी छल्न चीनतर्फ विदेशी पर्यटक, भिसा सहजीकरणसँगै नयाँ गन्तव्यको खोजी बढ्यो

ड्रागन मिडिया समाचार कक्ष
विश्वका विभिन्न भागमा अत्यधिक गर्मी बढिरहेका बेला चीनका पहाडी क्षेत्र र कम चर्चित पर्यटन गन्तव्य विदेशी पर्यटकका लागि गर्मी छल्ने नयाँ विकल्पका रूपमा लोकप्रिय हुन थालेका छन्। भिसामुक्त प्रवेश, सहज यातायात र पर्यटन सेवा विस्तारसँगै विदेशी पर्यटक परम्परागत प्रसिद्ध स्थलभन्दा बाहिरका शहर, ग्रामीण क्षेत्र र स्थानीय जीवन अनुभव गर्न आकर्षित भएका छन्।
मध्य चीनको हुनान प्रान्तस्थित झाङजियाजेको तियानमेन पर्वत यसको उदाहरण बनेको छ। समुद्री सतहबाट एक हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको यस क्षेत्रमा गर्मी याममा तापक्रम सामान्यतः २२ देखि २६ डिग्री सेल्सियस आसपास रहने भएकाले युरोपलगायत विभिन्न क्षेत्रका पर्यटकको चाप बढेको छ। पर्यटकहरू प्राकृतिक दृश्य, चिसो हावापानी र स्थानीय जीवनशैलीको अनुभवलाई यात्राको मुख्य आकर्षणका रूपमा लिन थालेका छन्।
यस्तै प्रवृत्ति उत्तरी चीनको थ्येनचिनस्थित जिझोउ जिल्लादेखि पूर्वी चीनको नानचिङसम्म देखिएको छ। विदेशी पर्यटकहरू केवल प्रसिद्ध सम्पदा हेर्न सीमित नभई ग्रामीण अतिथिगृह, स्थानीय बजार, सार्वजनिक पार्क र सामान्य नागरिकको दैनिक जीवनसँग जोडिएका स्थानसम्म पुग्न थालेका छन्। पर्यटन व्यवसायीका अनुसार विशेष गरी युवा स्वतन्त्र यात्रु, साना शहर र गाउँ घुम्ने पर्यटक तथा लामो समय चीनमा बस्ने विदेशीको सङ्ख्या बढिरहेको छ।
चीनको तीव्र प्रविधिगत विकाससमेत नयाँ पर्यटन आकर्षण बन्न थालेको छ। केही विदेशी पर्यटकले चिनियाँ विद्युतीय सवारी उत्पादक, रोबोटिक्स उद्योग र प्रविधि कम्पनीका उत्पादन केन्द्र भ्रमण गर्ने रुचि देखाएका छन्। यसले चीन भ्रमणको स्वरूप प्राकृतिक तथा सांस्कृतिक पर्यटनबाट औद्योगिक र प्रविधि पर्यटनतर्फ समेत विस्तार भइरहेको संकेत गरेको छ।
विदेशी आगमन बढ्नुमा चीनले पछिल्ला वर्षहरूमा विस्तार गरेको भिसा सहजीकरण महत्वपूर्ण कारक बनेको छ। यस वर्षको पहिलो छ महिनामा चीनमा विदेशी नागरिकका २ करोड २९ लाख १० हजार आगमन दर्ता भएका छन्, जुन अघिल्लो वर्षको समान अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो। तीमध्ये ७७.७ प्रतिशत यात्रा विभिन्न भिसामुक्त प्रवेश व्यवस्थाअन्तर्गत भएका थिए।
चीनले अगस्ट २० देखि किर्गिस्तान र भियतनामका नागरिकलाई पनि २४० घण्टे भिसामुक्त ट्रान्जिट व्यवस्थामा समावेश गरेपछि यो सुविधा पाउने देशको सङ्ख्या ५७ पुगेको छ। योग्य यात्रुले तेस्रो देश वा क्षेत्रतर्फ यात्रा गर्ने क्रममा चीनका तोकिएका प्रवेश नाकाबाट भिसाबिना प्रवेश गरी बढीमा २४० घण्टा अर्थात १० दिनसम्म निर्धारित क्षेत्रमा बस्न सक्छन्। दुवै देशका नागरिकलाई हाइनान प्रान्तमा ३० दिनसम्मको भिसामुक्त प्रवेश सुविधा पनि लागू गरिएको छ।
विदेशी पर्यटकको सङ्ख्या बढेसँगै चीनका शहरहरूले सेवा पूर्वाधारमा पनि सुधार गरिरहेका छन्। जियाङसु प्रान्तको सुझोउले विदेशी पर्यटकलाई रात बिताउने गरी ल्याउने ट्राभल एजेन्सी तथा अनलाइन पर्यटन प्लेटफर्मलाई प्रोत्साहन दिने नीति ल्याएको छ। शाङहाईले यातायात, होटल, भोजन, टिकट र किनमेलसम्बन्धी सेवा जोड्ने कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट पर्यटन किओस्क सञ्चालनमा ल्याएको छ, जसले बहुभाषिक सेवा र विदेशी बैंक कार्डमार्फत भुक्तानीको सुविधा दिन्छ।
झाङजियाजेले जनवरीदेखि जुलाईसम्म १९५ देश तथा क्षेत्रका आठ लाख ६० हजार सात सय विदेशी पर्यटक भित्र्याएको छ, जुन वार्षिक रूपमा १९.०१ प्रतिशत वृद्धि हो। सो अवधिमा पर्यटनबाट प्राप्त विदेशी मुद्रा आम्दानी ९ करोड ८५ लाख २० हजार अमेरिकी डलर पुगेको छ।
तर विदेशी पर्यटकको तीव्र वृद्धिसँगै भाषा र सूचना पहुँच अझै चुनौतीका रूपमा देखिएका छन्। झाङजियाजेका पर्यटन क्षेत्रले स्थानीय विश्वविद्यालयसँग सहकार्य गरी अंग्रेजी, कोरियालीलगायत भाषाका प्रशिक्षण सामग्री तयार गर्नुका साथै पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीका लागि साँझका भाषा कक्षा सञ्चालन गर्न थालेका छन्।
चीनको पछिल्लो पर्यटन प्रवृत्तिले विदेशी आगन्तुकको रुचि केवल बेइजिङ, शाङहाई वा प्रसिद्ध ऐतिहासिक स्थलमा सीमित नरहेको देखाएको छ। प्राकृतिक शीतलता, ग्रामीण जीवन, प्रविधिगत विकास र सहज प्रवेश नीतिको संयोजनले चीनको पर्यटन बजारलाई थप विविध बनाउँदै विदेशी यात्रुलाई देशको फरक र गहिरो अनुभवतर्फ आकर्षित गरिरहेको छ।





