१७ भाद्र २०८३, बुधबार

विद्यालय शिक्षा विधेयकको मस्यौदाअघि काठमाडौंमा सरोकारवालासँग नीतिगत संवाद

ड्रागन मिडिया सम्वाददाता

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्ने क्रममा सरोकारवालाबाट राय सुझाव संकलनलाई निरन्तरता दिएको छ। सातै प्रदेशमा शिक्षा संवाद सम्पन्न गरेको मन्त्रालयले आइतबार काठमाडौंमा विभिन्न सरोकारवाला समूहसँग विषयगत नीतिगत संवाद आयोजना गरेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा परामर्श गोष्ठी सञ्चालन भइरहेको छ। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, विद्यालय व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको छ।

मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माणमा प्रत्यक्ष सरोकार राख्ने पक्षको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले विराटनगरबाट शुरु गरेको प्रदेशस्तरीय शिक्षा संवाद धनगढीसम्म पुर्‍याएर सातै प्रदेशमा सम्पन्न गरिसकेको छ।

प्रदेशस्तरीय संवादका क्रममा शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणाली, विद्यालय शिक्षाको गुणस्तर तथा संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी बाँडफाँटलगायत विषयमा सुझाव संकलन गरिएको थियो।

काठमाडौंमा भइरहेको नीतिगत संवादमा सातै प्रदेशबाट प्राप्त सुझाव र निष्कर्षको समीक्षा गर्दै विद्यालय व्यवस्थापन तथा पाठ्यक्रमसँग सम्बन्धित विषयलाई विधेयकको मस्यौदामा कसरी समेट्ने भन्नेबारे छलफल भइरहेको छ।

मन्त्रालयले प्रदेशस्तरीय संवाद र काठमाडौंमा हुने विषयगत छलफलबाट प्राप्त सुझावलाई एकीकृत गरी विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउने तयारी गरेको छ। नयाँ शिक्षा ऐनलाई विद्यालय शिक्षामा देखिएका दीर्घकालीन नीतिगत तथा व्यवस्थापकीय समस्या समाधान गर्ने आधार बनाउने मन्त्रालयको लक्ष्य रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button