कलैयाबाट हराएकी दुई वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल फेला

ड्रागन मिडिया सम्वाददाता
बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझ हराएकी दुई वर्षीया बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्।
स्थानीय मुकेश कुमार मण्डलकी छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरअगाडि खेलिरहेका बेला बेपत्ता भएकी थिइन्। परिवारले खोजी गर्दा फेला नपरेपछि बालिकाका हजुरबुवा मदन मण्डलले राति प्रहरीलाई जानकारी गराएका थिए।
जानकारी पाएलगत्तै प्रहरीले बालिकाको खोजीका लागि विभिन्न टोली परिचालन गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। खोजीमा स्थानीयबासीसँगै नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ।
रातभर गरिएको खोजीपछि आइतबार बिहान कलैया उपमहानगरपालिका–२६ सिस्वा क्षेत्रमा सडक किनारमा बालिका सकुशल फेला परेकी हुन्। स्थानीयले बालिकालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले बालिकाको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्याएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि भएपछि उनलाई बुबा मुकेश कुमार मण्डल र परिवारका सदस्यको जिम्मा लगाइएको छ।
बालिका घरबाट कसरी सिस्वा क्षेत्रसम्म पुगिन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





