१७ भाद्र २०८३, बुधबार

देशका आठ जिल्लाबाट लागूऔषधसहित १६ जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट ब्राउनसुगर, खैरो हेरोइन, गाँजा तथा नियन्त्रित औषधिसहित १६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेमा छुट्टाछुट्टै कारवाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौं महानगरपालिका–६ कपनस्थित तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन्।

मोरङको कानेपोखरी गाउँपालिका–७ बाट तीन ग्राम २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३१ वर्षीय विवेक राई पक्राउ परेका छन्। झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट १३० मिलिग्रामसहित ३० वर्षीय विवेक लिम्बू र झापा गाउँपालिका–४ चर्तागाछीबाट पाँच ग्राम २१० मिलिग्रामसहित १७ वर्षीय किशोर पक्राउ परेका छन्।

त्यस्तै, बिर्तामोड नगरपालिका–३ पुरानो भद्रपुर रोडबाट एक ग्राम ३८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २३ वर्षीय अर्जुन राजवंशी तथा झापा गाउँपालिका–४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्रामसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन्।

धनुषाको शहीदनगर नगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय रामबालक पासवान पक्राउ परेका छन्।

पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट गाँजा जस्तो देखिने पदार्थ करिब ५०० ग्रामसहित ६५ वर्षीय रामदयाल महरा पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट एक ग्राम ८४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन्।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो १०० ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन्।

बाँकेको डुडुवा गाउँपालिका–२ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९०० मिलिग्रामसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन्।

पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button