अध्यक्षको अनुहार फेर्दैमा पार्टी पुनर्गठन हुँदैन : रामकुमारी झाँक्री

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी नेतृत्वमा एउटा व्यक्ति परिवर्तन गर्दैमा त्यसलाई पुनर्गठन भन्न नसकिने बताएकी छन्। पार्टीभित्र चलिरहेको पुनर्गठनको बहसप्रति प्रश्न उठाउँदै उनले संरचना, कार्यशैली र शक्ति सम्बन्धमा समेत परिवर्तन आवश्यक हुने धारणा राखेकी हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत झाँक्रीले अध्यक्ष परिवर्तन गरे पनि बाँकी संरचना र कार्यशैली पुरानै रहने अवस्थामा त्यसको औचित्यमाथि प्रश्न उठाएकी छन्।
उनले लेखेकी छन्, ‘यदि पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?’
झाँक्रीले एमालेभित्र आन्तरिक लोकतन्त्रको प्रश्नसमेत उठाएकी छन्। जेनजी आन्दोलनअघि सम्पन्न पार्टीको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको विषय किन गम्भीर रूपमा नउठेको भन्दै उनले नेतृत्व परिवर्तनको बहसलाई पार्टीको समग्र संस्थागत सुधारसँग जोड्न खोजेकी छन्।
एमालेभित्र पछिल्लो समय नेतृत्व, संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणलाई लिएर बहस तीव्र बनेको छ। पार्टी पुनर्गठनको माग उठाइरहेका नेताहरूले नेतृत्व र कार्यशैली दुवैमा परिवर्तन आवश्यक रहेको बताउँदै आएका बेला झाँक्रीले पुनर्गठनलाई अध्यक्ष परिवर्तनमा मात्र सीमित गर्न नहुने प्रश्न अघि सारेकी हुन्।





