रवि लामिछानेको चीन भ्रमण स्थगित, नयाँ मिति तय हुन बाँकी

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण हाललाई स्थगित भएको छ। यसअघि पटकपटक समय सारिएको भ्रमण सेप्टेम्बरको दोस्रो सातामा हुने तयारी रहे पनि अब उक्त समयमा लामिछाने चीन नजाने भएका हुन्।
सरकारी तथा पार्टी स्रोतका अनुसार लामिछानेको भ्रमण अर्को उपयुक्त मितिमा गर्ने तयारी छ, तर नयाँ मिति अहिलेसम्म तय भएको छैन। चीन भ्रमणका लागि यसअघि चिनियाँ कम्युनिस्ट पार्टीसँग पार्टीगत तहमा समन्वय भइरहेको थियो र उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत प्रस्तावित थिए।
लामिछानेको नेतृत्वमा जाने भनिएको टोलीको सट्टा अब रास्वपाका सांसदहरूको टोली चीन जाने तयारी भइरहेको छ। सांसदहरूको भ्रमणको विस्तृत कार्यतालिका र प्रतिनिधिमण्डलको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन।
लामिछानेले गत जुनमा भारतको पाँचदिने भ्रमण गरेका थिए। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा भाजपाका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।
भारत भ्रमणपछि चीन भ्रमण गर्ने गरी रास्वपाले कूटनीतिक तथा पार्टीगत सम्पर्क अघि बढाएको थियो। प्रारम्भमा अगस्टमा चीन जाने तयारी भए पनि भ्रमण पछि सेप्टेम्बरको दोस्रो साताका लागि सारिएको थियो। पछिल्लो निर्णयसँगै उक्त तालिका पनि स्थगित भएको छ।
यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले पनि छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। उनको भ्रमणका क्रममा भारतीय पक्षसँग उच्चस्तरीय भेटवार्ता हुने बताइएको छ।
लामिछानेको चीन भ्रमण स्थगित हुनुको विस्तृत कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। पार्टी र सरकारी स्रोतले भने भ्रमण रद्द नभई अर्को उपयुक्त समयका लागि सारिएको बताएका छन्।





