१७ भाद्र २०८३, बुधबार

सत्ता केन्द्रित राजनीतिले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो : दाहाल

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर जनआन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले सरकार बनाउने र छाड्ने विषयमा मात्र केन्द्रित हुँदा नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे।

उनले कम्युनिस्ट शक्तिहरूबीच हुने सहकार्यको उद्देश्य सरकारमा पुग्नु मात्र नभई नयाँ आन्दोलन निर्माण गर्नु र त्यसलाई बलियो बनाउनु हुनुपर्ने बताए। उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताका मुद्दामा आधारित सङ्घर्षले मात्र राजनीतिक तथा सामाजिक रूपान्तरणको आधार तयार गर्न सक्ने उनको भनाइ थियो।

दाहालले विगतमा माओवादी आन्दोलनमा सहभागी विभिन्न शक्तिबीच रहेको सहकार्य, सङ्घर्ष र बलिदानको स्मरण गर्दै अहिलेको परिस्थितिले पुनः गम्भीर आत्मसमीक्षा आवश्यक बनाएको बताए। कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको जनसमर्थनलाई संस्थागत गर्न नसक्नुका कारणसमेत समीक्षा गर्नुपर्नेमा उनले जोड दिए।

उनले नेकपा एमालेलगायत अन्य वामपन्थी दलसँग विगतमा भएका सहकार्य र एकताका सकारात्मक तथा नकारात्मक अनुभवबाट शिक्षा लिनुपर्ने बताए। विगतका कमजोरी दोहोर्‍याउने गरी नभई स्पष्ट विचार, नीति र रणनीतिका आधारमा नयाँ सहकार्य अघि बढाउनुपर्ने उनको धारणा थियो।

दाहालले वर्तमान राजनीतिक परिस्थितिमा विचार मिल्ने शक्तिबीच एकता, निश्चित राष्ट्रिय तथा जनजीविकाका मुद्दामा सहकार्य र आवश्यकताअनुसार राजनीतिक मोर्चा निर्माण गर्नुपर्ने बताए। त्यसका लागि कार्यक्रममा सहभागी विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका प्रतिनिधिलाई सहकार्यको नयाँ यात्रामा सहभागी हुन उनले आह्वान गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button