‘अब मतको हिसाब होइन, मनको दूरी घटाउने समय हो’: नवनिर्वाचित सदस्य थापा

ड्रागन मिडिया सम्वाददाता
नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य तोपबहादुर थापाले निर्वाचनसँगै प्रतिस्पर्धाको अध्याय समाप्त भएको भन्दै अब उद्योगी व्यवसायीबीच सहकार्य, एकता र विश्वास बलियो बनाउने समय आएको बताएका छन्।
संघको शनिबार सम्पन्न निर्वाचनपछि मतदाता तथा निर्वाचनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै थापाले अध्यक्षमा निर्वाचित चिरञ्जीवी ओलीसहित सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
उनले निर्वाचन सफल, मर्यादित र सौहार्दपूर्ण रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने उद्योगी व्यवसायी, मतदाता, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा संयुक्त समितिका सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

नेपालगन्जसहित बाँकेका विभिन्न पालिकामा रहेका उद्योगी व्यवसायीले आफूप्रति देखाएको विश्वास, सद्भाव र आत्मीयतालाई आफूले ठूलो सम्मानका रूपमा लिएको थापाले बताएका छन्। आफूलाई मत दिएर कार्यसमिति सदस्यमा निर्वाचित गराउने मतदाताप्रति उनले कृतज्ञता व्यक्त गरे।
“यो विजय केवल मेरो वा हाम्रो व्यक्तिगत विजय होइन, हामीप्रति विश्वास गर्ने सम्पूर्ण उद्योगी व्यवसायी साथीहरूको साझा विश्वास र मायाको सम्मान तथा विजय हो,” थापाले भनेका छन्।
निर्वाचनपछि संघभित्र पक्ष र विपक्षको मनोविज्ञानभन्दा साझा व्यावसायिक हितलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्। “अब मतको हिसाब होइन, मनको दूरी घटाउने समय हो। प्रतिस्पर्धाको अध्याय सकिएको छ, अब सहकार्य र एकताको यात्रा सुरु भएको छ,” उनको भनाइ छ।
थापाले अध्यक्ष ओली नेतृत्वको नयाँ कार्यसमितिले नेपालगन्ज उद्योग वाणिज्य संघलाई अझ सुदृढ, एकताबद्ध र उद्योगी व्यवसायीको साझा आवाजका रूपमा अगाडि बढाउने विश्वाससमेत व्यक्त गरेका छन्।
संघलाई थप बलियो, पारदर्शी, समावेशी र सबै व्यवसायीको साझा संस्था बनाउन आफूले पनि सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गर्दै थापाले आगामी दिनमा सबै उद्योगी व्यवसायीबाट सुझाव, साथ र सहकार्यको अपेक्षा गरेका छन्।





