रविको चीन भ्रमण स्थगित, डोभाल बेइजिङ जाँदै; मंगलबार वाङ यीसँग २५औँ सीमा वार्ता

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सोमबार बेइजिङ पुग्दैछन्। डोभालले मंगलबार चिनियाँ विदेशमन्त्री तथा चीनका विशेष प्रतिनिधि वाङ यीसँग भारत–चीन सीमा प्रश्नबारे २५औँ चरणको विशेष प्रतिनिधिस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
लामिछानेको चीन भ्रमण यसअघि अगस्टमा हुने तयारी थियो। पछि सेप्टेम्बरको दोस्रो सातातर्फ सारिएको भ्रमणसमेत हाललाई स्थगित भएको छ। नयाँ मिति तय भएको छैन। अब रास्वपाका सांसदहरूको एउटा टोली मात्र चीन जाने तयारीमा रहेको बताइएको छ।
लामिछानेले यसअघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसहित भारतीय नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। त्यसपछि चीन भ्रमणको तयारी भइरहेको थियो। रास्वपा स्रोतहरूले यसअघि बेइजिङ भ्रमणका क्रममा चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गराउने प्रयास भइरहेको बताएका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटको सम्भावना खोजिएको विवरण पनि सार्वजनिक भएको थियो, तर त्यस्तो भेट औपचारिक रूपमा निश्चित भएको थिएन।
लामिछानेको भ्रमण स्थगन र डोभालको बेइजिङ यात्रा समयका हिसाबले एकै चरणमा परे पनि यी दुई कार्यक्रमबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन। डोभालको भ्रमण भारत–चीनबीच सन् २००३ देखि सञ्चालनमा रहेको विशेष प्रतिनिधिस्तरीय सीमा संवादको नियमित प्रक्रियासँग सम्बन्धित हो।
डोभाल र वाङ यी दुवै देशका सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधि हुन्। २५औँ चरणको वार्तामा वास्तविक नियन्त्रण रेखामा शान्ति र स्थिरता कायम गर्ने, बाँकी तनाव व्यवस्थापन गर्ने, सीमा व्यवस्थापन संयन्त्रलाई प्रभावकारी बनाउने तथा दीर्घकालीन सीमा समाधानका आधारबारे छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि अगस्ट ६ मा नयाँ दिल्लीमा सम्पन्न भारत–चीन सीमा मामिला परामर्श तथा समन्वय संयन्त्रको ३६औँ बैठकले २५औँ विशेष प्रतिनिधिस्तरीय वार्ता आयोजना गर्ने तयारी अघि बढाउने सहमति गरेको थियो। दुवै पक्षले कूटनीतिक तथा सैनिक माध्यमबाट संवाद कायम राख्दै सीमाक्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने प्रतिबद्धता पनि दोहोर्याएका थिए।
डोभाल र वाङ यीबीच विशेष प्रतिनिधिका रूपमा पछिल्लो औपचारिक सीमा वार्ता सन् २०२५ अगस्ट १९ मा नयाँ दिल्लीमा भएको थियो। २४औँ चरणको उक्त वार्तामा दुवै पक्षले १० बुँदे सहमति गरेका थिए। त्यसमा सीमा क्षेत्रमा शान्ति कायम गर्ने, सीमा व्यवस्थापन संयन्त्र सुधार गर्ने, सीमापार नदीसम्बन्धी सहकार्य अघि बढाउने र परम्परागत सीमा व्यापारका केही केन्द्र पुनः सञ्चालन गर्नेलगायत विषय समावेश थिए।
यसपटकको वार्ता चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भारत भ्रमणअघि हुन लागेकाले थप महत्वका साथ हेरिएको छ। भारतले सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना गर्ने ब्रिक्स शिखर सम्मेलनमा सी सहभागी हुने अपेक्षा गरिएको छ। यद्यपि चीनले उनको सहभागिताबारे औपचारिक घोषणा गरिसकेको छैन।
भारत र चीनबीच सन् २०२० को गलवान घटनापछि गम्भीर रूपमा बिग्रिएको सम्बन्ध पछिल्ला दुई वर्षमा क्रमशः संवादतर्फ फर्किएको छ। तर सीमाक्षेत्रको स्थायित्व अझै द्विपक्षीय सम्बन्धको मुख्य संवेदनशील विषय बनेको छ। भारतले सीमामा शान्ति र स्थिरता नभएसम्म समग्र सम्बन्ध पूर्ण रूपमा सामान्य हुन नसक्ने धारणा राख्दै आएको छ भने चीनले सीमा विवादलाई समग्र द्विपक्षीय सम्बन्धबाट उचित रूपमा व्यवस्थापन गर्दै अन्य क्षेत्रमा सहकार्य अगाडि बढाउनुपर्ने बताउँदै आएको छ।
यसैबीच अरुणाचल प्रदेशका २७ स्थानलाई भारतले आधिकारिक नक्सामा मानक नामसहित समावेश गरेपछि दुई देशबीच पुनः राजनीतिक विवाद देखिएको छ। भारतले अरुणाचल प्रदेशलाई आफ्नो अभिन्न हिस्सा बताउँदै आएको छ भने चीनले उक्त क्षेत्रमाथि आफ्नो दाबी दोहोर्याएको छ। यस्तो पृष्ठभूमिमा हुन लागेको डोभाल–वाङ वार्ताले तत्काल सीमा समस्या समाधान गर्नेभन्दा पनि तनाव नियन्त्रण, राजनीतिक संवादको निरन्तरता र आगामी मोदी–सी सम्पर्कका लागि वातावरण निर्माण गर्ने भूमिका खेल्ने अपेक्षा गरिएको छ।





