गुँला पर्वमा स्वयम्भूमा दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा

ड्रागन मिडिया सम्वाददाता
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा गुँला पर्वअन्तर्गत दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ।
बौद्ध धर्मावलम्बीले पछिल्लो एक वर्षभित्र दिवङ्गत भएका आफन्तको स्मरण गर्दै परम्परागत बाजागाजासहित स्वयम्भू महाचैत्यमा पूजाआजा गरेका हुन्। पूजाका क्रममा भैँसीको सिङबाट बनेका परम्परागत बाजासमेत बजाइएको थियो।
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वका अवसरमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गर्दै विधिपूर्वक पूजा गरेका छन्।
नेपाल संवत्को दशौँ महिनाका रूपमा रहेको गुँलालाई बौद्ध समुदायले पुण्य सञ्चय गर्ने पवित्र महिनाका रूपमा मनाउने परम्परा छ। ‘गुँ’को अर्थ गुण गर्नु र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ। यस अवधिमा धार्मिक कार्य, दान र आत्मअनुशासनमार्फत जीवनलाई शुद्ध र सात्विक बनाउने अभ्यास गरिन्छ।
गुँला पर्वमा धर्मावलम्बीले प्राणी हिंसा नगर्ने, नदिइएको वस्तु नलिने, झुटो नबोल्ने, लागुऔषध तथा मदिरा सेवन नगर्ने, अनावश्यक मनोरञ्जनबाट टाढा रहने, समयमै भोजन गर्ने, आभूषण नलगाउने तथा ब्रह्मचर्य पालना गर्नेलगायतका अनुशासन अपनाउने गर्छन्।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले एकमहिने पर्वलाई व्यवस्थित बनाउन स्वयम्भू र आसपासका क्षेत्रमा सरसफाइ, रङरोगन तथा बत्ती जडान गरेको महासमिति सदस्य राजु लामाले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन बाजागाजासहित स्वयम्भू पुग्ने, महाचैत्यको परिक्रमा तथा पूजाआजा गर्ने र त्यसपछि शोभाभगवती क्षेत्रको परिक्रमा गर्ने परम्परा रहिआएको छ।
गुँला पर्व नेवार बौद्ध समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक हो। यसले दिवङ्गत आफन्तको स्मरणसँगै दान, संयम, करुणा र पुण्य सञ्चयलाई विशेष महत्व दिन्छ।





