प्रतिनिधिसभा बैठक आज, चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइँदै

ड्रागन मिडिया सम्वाददाता
सङ्घीय संसद प्रतिनिधिसभाको बैठक आज सोमबार अपराह्न १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
सङ्घीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव प्रस्तुत हुनेछन्।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त विधेयकमाथि यसअघि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भइसकेको छ। सरकारले राहदानी जारी, रद्द तथा व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्ड र आधुनिक सुरक्षा आवश्यकताअनुकूल बनाउने उद्देश्यले संशोधन प्रस्ताव अघि बढाएको जनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई पनि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। विधेयकले खानी तथा खनिज स्रोतको अन्वेषण, उत्खनन, अनुमति, नियमन र व्यवस्थापनसम्बन्धी कानुनी संरचनालाई अद्यावधिक गर्ने लक्ष्य राखेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम पनि रहनेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक प्रश्नको मन्त्रीले जवाफ दिने कार्यक्रम छ।
यसैबीच आज विभिन्न संसदीय समितिका बैठक पनि बस्दैछन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक तय भएका छन्।
प्रतिनिधिसभामा पेश भएका विधेयकलाई सम्बन्धित समितिमा पठाइएपछि सांसदहरूले दफादफामा विस्तृत अध्ययन, संशोधन प्रस्ताव र सरोकारवालासँग छलफल गर्न सक्नेछन्। समितिको प्रतिवेदनपछि विधेयक पुनः सदनमा फर्कने र त्यसपछि पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।





