अविरल वर्षाले प्रमुख राजमार्ग प्रभावित, अरनिको र मेचीका सडकखण्ड पूर्ण अवरुद्ध

ड्रागन मिडिया सम्वाददाता
अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको भदौ ८ गते बिहान ६:२० बजेसम्मको अद्यावधिक विवरणअनुसार विशेषगरी कोशी र बागमती प्रदेशका केही महत्वपूर्ण सडकमा पूर्ण तथा आंशिक अवरोध कायम छ भने जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन यातायात रोकिएको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण सडक प्रभावित भए पनि वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
इलामको राजदुवालीस्थित मेची राजमार्गमा निरन्तर वर्षाका कारण सडक हिलाम्मे भएपछि झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। उक्त क्षेत्रमा भने वैकल्पिक सडक उपलब्ध रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ। बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटञ्जेबैँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने मौसम र सडकको अवस्था मूल्याङ्कन गरी यातायात सञ्चालन गरिनेछ।
हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथ तथा शिवपुरी–८ घट्टेखोला क्षेत्रको टोखा–छहरे सडकमा पनि सम्भावित पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन समयमा सवारी आवागमन रोकिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा माटो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यसबाट नेपाल–चीन सीमातर्फको सडक सम्पर्क प्रभावित भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा बन्द छ। त्यस्तै गोसाइँकुण्ड गाउँपालिका–२ स्याउ पार्किङ क्षेत्रमा पहिरो खसेपछि पासाङ ल्हामु सडकखण्डमा पनि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातार वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा खोलानालामा आकस्मिक बाढीको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न र प्रहरी तथा स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ।
विशेषगरी रातको समयमा पहाडी राजमार्गमा पहिरोको जोखिम बढ्ने भएकाले अत्यावश्यक अवस्थाबाहेक जोखिमयुक्त सडकमा रात्रिकालीन यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।





