१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्रीको भिडियो खिचेको भन्दै पत्रकारको क्यामेराबाट दृश्य मेटाउन लगाएको आरोप, महासंघको आपत्ति

ड्रागन मिडिया सम्वाददाता

पोखरामा रहेका प्रधानमन्त्री बालेन्द्र शाहको भिडियो खिचेको भन्दै उनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले पत्रकार सुरेश सुनारको क्यामेराबाट दृश्य मेटाउन लगाएको आरोप लागेको छ। घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले आपत्ति जनाउँदै यसलाई प्रेस स्वतन्त्रतासँग जोडिएको गम्भीर विषय भनेको छ।

मुस्ताङ भ्रमण सकेर आइतबार पोखरा फर्किएका प्रधानमन्त्री शाह पोखरा महानगरपालिका–१४ स्थित मझेरी मन्जिल रिसोर्टमा बसेका बेला मेरो साथी टीभी डटकमका पत्रकार सुनारले उनको भिडियो खिचेका थिए।

सुनारका अनुसार सुरुमा रिसोर्टको गेटतर्फबाट भिडियो खिच्न रोक लगाइएपछि उनले विजयपुर खोलापारिबाट रिसोर्ट परिसरमा रहेका प्रधानमन्त्रीको दृश्य क्यामेरामा कैद गरेका थिए। त्यसपछि आफूले भिडियो खिचिरहेको देखेर सेनाको टोली गाडीमा आएको र प्रधानमन्त्री ‘निजी भ्रमण’मा रहेको भन्दै क्यामेरामा रहेका दृश्य एक एक गरी मेटाउन लगाएको उनले बताएका छन्।

प्रधानमन्त्री शाह शुक्रबार परिवार तथा सचिवालय टोलीसहित स्थलमार्गबाट पोखरा पुगेका थिए। उनीसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’समेत रहेका थिए। मुस्ताङ जाने क्रममा प्रधानमन्त्री शाह माछापुच्छ्रे गाउँपालिकाको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बसेका थिए।

अस्ताममा पनि प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाली सेनाको टोली परिचालन गरिएको थियो। सञ्चारकर्मीलाई प्रधानमन्त्री बसेको स्थान नजिक जान रोकिएको र लजका कर्मचारी तथा सञ्चालकलाई परिचयपत्रका आधारमा मात्र प्रवेश दिइएको बताइएको छ।

पत्रकारको क्यामेराबाट दृश्य मेटाउन लगाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले आपत्ति जनाएका छन्। सार्वजनिक पद धारण गरेको व्यक्तिबारे समाचार संकलन गर्ने क्रममा पत्रकारले खिचेको दृश्य सुरक्षाकर्मीले मेटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनको भनाइ छ।

प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलता महत्वपूर्ण भए पनि सुरक्षा व्यवस्थापनका नाममा समाचार संकलनका क्रममा प्राप्त सामग्री नियन्त्रण वा मेटाउने कार्य उचित नहुने महासंघको धारणा छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भने घटनाबारे पूर्ण विवरण प्राप्त भइनसकेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता चित्रांगत बरालले सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तित्वको दृश्य खिच्न प्रशासनले पत्रकारलाई कुनै रोक नलगाएको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निजी भ्रमणका रूपमा जनाएको थियो। तर निजी भ्रमणमा रहे पनि प्रधानमन्त्री सार्वजनिक पदाधिकारी तथा राष्ट्रको कार्यकारी प्रमुख रहने भएकाले सुरक्षा आवश्यकता र सञ्चारकर्मीको समाचार संकलनको अधिकारबीच उचित सन्तुलन कायम गर्नुपर्ने विषय घटनासँगै पुनः बहसमा आएको छ।

घटनाबारे नेपाली सेनाको आधिकारिक धारणा सार्वजनिक भएपछि सुरक्षा टोलीले कुन आधार र परिस्थितिमा भिडियो मेटाउन लगाएको थियो भन्ने विषय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button