१७ भाद्र २०८३, बुधबार

कृष्णनगरबाट १५ किलोभन्दा बढी चरेस र अफिमजस्तो पदार्थसहित पाँच महिला पक्राउ

ड्रागन मिडिया सम्वाददाता

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ जाँदै गरेका पाँच महिलालाई प्रहरीले १५ किलोभन्दा बढी चरेस र अफिमजस्तो पदार्थसहित पक्राउ गरेको छ।

कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई रोकेर जाँच गर्दा चरेसजस्तो देखिने पाँच किलो २२५ ग्राम कालो गिलो पदार्थ र अफिमजस्तो देखिने १० किलो गिलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साका चुमा लामिछाने रहेका छन्। उनीहरूको साथबाट पाँच थान मोबाइल फोनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेका पाँचै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

बरामद पदार्थ चरेस र अफिम नै हो वा होइन भन्ने यकिन गर्न परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा उक्त पदार्थ नेपालबाट भारततर्फ लैजान खोजिएको देखिए पनि यसको स्रोत, गन्तव्य तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा कुनै संगठित लागुऔषध ओसारपसार सञ्जालको संलग्नता रहेको छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरेको जनाएको छ।

नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको कृष्णनगर हुँदै यसअघि पनि लागुऔषध ओसारपसारका घटना सार्वजनिक हुँदै आएका छन्। खुला सीमाको प्रयोग गरी हुने अवैध कारोबार नियन्त्रणका लागि सीमाक्षेत्रमा प्रहरीले निगरानी र जाँच बढाउँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button