१७ भाद्र २०८३, बुधबार

पुराना आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहन्छन्: आईजीपी कार्की

ड्रागन मिडिया सम्वाददाता

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटना नेपाल प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित रहने भएकाले अपराधमा संलग्न व्यक्ति दशकौँपछि पनि कानुनी दायरामा आउन सक्ने बताएका छन्।

राष्ट्रिय समाचार समिति रासससँगको कुराकानीमा महानिरीक्षक कार्कीले व्यक्तिको स्मरण समयसँगै कमजोर हुन सक्ने भए पनि संस्थागत रूपमा प्रहरीले अपराधका घटनालाई नबिर्सने बताए। पुराना घटनाको अध्ययन र निरन्तर अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनको भनाइ छ।

“व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्, तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटना बिर्सँदैन,” कार्कीले भने।

पुराना अपराध अनुसन्धानमा अपेक्षित सफलता सधैँ प्राप्त हुन नसकेको स्वीकार गर्दै उनले चर्चित तथा जघन्य प्रकृतिका केही घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको बताए। केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि पुराना गम्भीर अपराधको अनुसन्धान जारी रहेको उनले जानकारी दिए।

“नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,” उनले भने।

समाज, प्रविधि र अपराधको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिमा मात्र निर्भर भएर आधुनिक सुरक्षा चुनौती सामना गर्न नसकिने बताए। विशेषगरी प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएकाले त्यसअनुसार दक्ष जनशक्ति तयार गर्ने, विशिष्टीकृत अनुसन्धान इकाइ विकास गर्ने र आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता बढेको उनको भनाइ छ।

प्रहरी संगठनभित्र कार्यसम्पादनलाई वस्तुगत र पूर्वानुमानयोग्य बनाउन कार्यसम्पादन सूचकसमेत लागू गरिएको उनले बताए। कर्मचारीले गरेको कामका आधारमा मूल्याङ्कन हुने प्रणालीले उनीहरूलाई आफ्नो कार्यसम्पादन सुधार्ने अवसर दिने महानिरीक्षक कार्कीको विश्वास छ।

नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने काम पनि अघि बढिरहेको उल्लेख गर्दै उनले नागरिकले सामान्य सेवाका लागि प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता क्रमशः घटाउने लक्ष्य रहेको बताए। घरबाटै आवेदन तथा निवेदन दिन, त्यसको अवस्था बुझ्न र विभिन्न सेवा प्राप्त गर्न सकिने प्रणाली विकास भइरहेको उनले जानकारी दिए।

नेपाल पुलिस एपमार्फत उपलब्ध सेवा विस्तार गर्दै लैजाने तयारीसमेत भइरहेको छ।

प्रविधिको प्रयोग गरी हुने अपराध, आर्थिक ठगी तथा सीमापार फैलिएका आपराधिक सञ्जाल नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई पनि प्राथमिकता दिइएको महानिरीक्षक कार्कीले बताए। नेपाल प्रहरीले इन्टरपोल तथा विभिन्न मुलुकका विशिष्टीकृत प्रहरी इकाइसँग सूचना, अनुभव र अनुसन्धानसम्बन्धी समन्वय विस्तार गरिरहेको उनको भनाइ छ।

नेपाल प्रहरी राज्यको तर्फबाट आमनागरिकसँग प्रत्यक्ष रूपमा सबैभन्दा नजिक रहने सुरक्षा संस्था भएको उल्लेख गर्दै कार्कीले शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग अपरिहार्य रहेको बताए।

उनले अपराध नियन्त्रण प्रहरीको प्रयासबाट मात्र सम्भव नहुने भन्दै शंकास्पद गतिविधि तथा आपराधिक प्रवृत्तिबारे समयमै सूचना उपलब्ध गराएर सहयोग गर्न नागरिकसँग आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button