कर्णालीमा नेकपाका तीन मन्त्री आज नियुक्त हुँदै, विष्ट, लामा र खड्काको नाम चर्चामा

ड्रागन मिडिया सम्वाददाता
कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच भएको सहमतिअनुसार नेकपाको भागमा परेका तीन मन्त्रालयमा आज मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ। पार्टीभित्र मन्त्री छनोटमा देखिएको विवादका कारण यी मन्त्रालय केही दिनदेखि मन्त्रीविहीन थिए।
नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार तीनवटै मन्त्रालयमा आजै मन्त्री नियुक्त गरी कर्णाली प्रदेश सरकारलाई पूर्णता दिने तयारी छ।
प्रदेश प्रमुखको कार्यालयले पनि नयाँ मन्त्रीको शपथका लागि बिहान ११ बजेको समय मागिएको जनाएको छ। कार्यालयका हिरालाल चौधरीका अनुसार शपथको तयारी भए पनि मन्त्री बन्ने व्यक्तिहरूको अन्तिम नामावली भने औपचारिक रूपमा प्राप्त भइसकेको छैन।
नेकपाबाट मन्त्री बन्ने सम्भावित व्यक्तिमा विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम प्रमुख रूपमा चर्चामा छ। यद्यपि पार्टीले औपचारिक निर्णय सार्वजनिक नगरेकाले उनीहरूले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागिसकेको छैन।
मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली सरकारमा यसअघि एमालेबाट तीन मन्त्री नियुक्त भइसकेका छन्। एमालेका टेकराज पछाईं आर्थिक मामिला तथा योजना, जितबहादुर मल्ल सामाजिक विकास तथा कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री छन्।
नेकपा र एमालेबीच भएको सत्ता साझेदारी सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय सम्हाल्ने व्यवस्था गरिएको छ। नेकपाका तीन मन्त्री नियुक्त भएपछि सात सदस्यीय कर्णाली प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउनेछ।
नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा नाम टुंग्याउन ढिलाइ भएको थियो। मन्त्रिपरिषद अपूर्ण रहँदा प्रदेश सरकारको नियमित काम, बजेट कार्यान्वयन तथा विकास आयोजनामा असर परेको भन्दै आलोचना हुँदै आएको थियो।





